कोरोना मिटर : संक्रमितको संख्या १४ हजार नाघ्यो, आज थप चार सय ८२ मा सं‌क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा थप चार सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप भएकोसमेत नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित मिडिया ब्रिफिङमा विगत २४ घन्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ सय ६२ भएको जानकारी दिए । यति धेरै संख्यामा निको भई डिस्चार्ज भएको यो पहिलो हो ।

हाल क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेको र संक्रमित भएर आइसोलेसनमा बस्ने नौ हजार तीन सय ६० जना रहेको गौतमले बताए ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या चार हजार ६ सय ५६ पुगेको छ।

संक्रमितको प्रदेशगत संख्या

प्रदेश १ मा संक्रमितको संखया ६ सय २३, प्रदेश २ मा तीन हजार आठ सय ५६, बागमती प्रदेशमा पाँच सय ५८, गण्डकी प्रदेशमा एक हजार ५८, प्रदेश ५ मा तीन हजार आठ सय ४३, कर्णाली प्रदेशमा १५ सय आठ र सुदूरपश्चिम प्रदेशमा २७ सय रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमित बालबालिका
हालसम्म १८ वर्ष मुनिका दुई हजार ६१ जना बालबालिकालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशमा मात्र एक सय ७५ जना नौ बर्ष मुनिका बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए ।

गौतमका अनुसार संक्रमित देखिएका सबै बालबालिका आमाबुबासँगै भारतबाट फर्किएका हुन् ।

थप एकको मृत्यु
१४ असारमा मृत्यु भएका अछाम जिल्ला रामरोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ ।

१३ असारमा स्वासप्रश्वासमा समस्या भएपछि बैलपाटा अस्पताल भर्ना गरिएका उनको भोलिपल्ट मृत्यु भएको प्रवक्ता डा गौतमले बताए । मधुमेहको विरामीसमेत रहेका उनको स्वाब परीक्षणको नतिजा १६ असारमा आएको हो ।

योसँगै कोरोना पोजेटिभ देखिएर मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

गौतमले विरामीसँगै कुरुवा बसेका दुई जनाको परीक्षणमा संक्रमण नदेखिएको बताए । नयाँ पत्रिकाबाट साभार

Comments

comments