कोरोना मिटर : कुल संक्रमित १३ हजार पाँच सय ६४, मंगलबार थप तीन सय १६ मा संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा देशभरका २२ प्रयोगशालामा गरिएको परीक्षणमा तीन सय १६ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार भएको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमितको संख्या १३ हजार पाँच सय ६४ पुगेको जानकारी दिए ।

२४ घन्टामा २२ प्रयोगशालामा चार हजार सात सय ११ जनाको नमुना परीक्षण भएको उनले जानकारी दिए ।

हाल क्वारेन्टाइनमा ५३ हजार ७० जना र संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या १० हजार तीन सय ४१ जना रहेको गौतमले बताए ।

विगत २४ घण्टामा ६० जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा नौ जना महिला र ५१ जना पुरुष छन् ।

सात जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा बढी

कोरोना संक्रमित पाँच सयभन्दा बढी भएका जिल्ला सात पुगेको छ ।

सबैभन्दा बढी प्रदेश २ का तीन जिल्लामा संक्रमितको संख्या पाँच सय नाघेको छ । प्रदेश २ का महोत्तरी, सर्लाही र रौतहटमा पाँच सय भन्दा बढी संक्रमित भएको गौतमले जानकारी दिए ।

त्यसैगरी प्रदेश ५ को कपिलवस्तु र दाङमा संक्रमितको संख्या पाँच सयभन्दा बढी छ । कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको कैलालीमा पनि संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको गौतमले बताए ।

संक्रमित कुन प्रदेशमा कति ?
सात प्रदेशमध्ये सबैभन्दा धेरै जना संक्रमित भएको प्रदेश ५ हो । त्यहाँ तीन हजार आठ सय सात जनालाई संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरी दोस्रो स्थानमा प्रदेश २ छ । प्रदेश २ का तीन हजार सात सय ९४ जनामा संक्रमण देखिएको छ ।

तेस्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेशमा दुई हजार चार सय ५७ जना संक्रमित छन् ।

प्रदेश १ मा पाँच सय ९५, गण्डकीमा एक हजार १७, कर्णालीमा एक हजार चार सय ६६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सातै प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको बागमती प्रदेश हो । बागमतीमा हालसम्म चार सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

सार्क राष्ट्रमा नेपाल
गौतमले सार्क राष्ट्रसँग नेपालको तुलना गर्दै यहाँको अवस्था अन्यत्रभन्दा राम्रो भएको बताए ।

पिसिआर गर्ने मुलुकहरुमा अफगानीस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा नेपाल अगाडि रहेको गौतमले दावी गरे ।

कोरोनाबाट प्रत्येक १० लाखमा मृत्यु हुने बंगलादेश, भारत, मालदिभ्स, अफगानिस्तान र पाकिस्तानभन्दा नेपालमा कम रहेको उनले बताए ।

त्यसैगरी प्रत्येक १० लाखमा हुने मृत्युदर विकसित देशहरु अमेरिका, बेलायत, जापान र चीनभन्दा कम रहेको उनको भनाई छ ।

कोरोनबाट हुने मृत्युदर विकसित देशभन्दा कम रहेको उनले बताए । नयाँ पत्रिकाबाट साभार

Comments

comments