अस्पतालको सिल खुल्यो, सेवा सुचारु, स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

जेठ १२ गते । जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण देखिएलगत्तै सङ्क्रमण फैलिन नदिन अस्पताल क्षेत्र सिल गरी सबै सेवा बन्द गरिएको थियो ।

औषधि उपचारलगायत अन्य अत्यावाश्यक सामग्रीहरूको आवश्यक भएकोले कर्मचारी आवासगृहमा सिल कायम राख्दै अस्पताल र आसपासको क्षेत्रको सिल खोलिएको प्रशासनले जनाएको छ ।

स्वास्थ्यकर्मी सङ्क्रमित भए लगतै जिल्ला क्राइसिस म्यानेजमेन्ट कमिटीले सिल गरेको अस्पताल परिसरलाई खुल्ला गरी कर्मचारी आवास गृहलाई मात्र सिल गरी अस्पतालबाट सेवा सुचारु गर्ने निर्णय गरेको छ ।

जिल्ला स्तरिय सिसिएमसिका संयोजक एवम् जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा गरिएको सिल खोली आवासमा मात्र सिल गरेर अस्पतालका केही सेवाहरु सुचारु गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रवक्ता जयराम श्रेष्ठले जानकारी दिनुभयो ।

निर्णयबमोजिम प्रदेश मन्त्रालयबाट विज्ञ टोली आइसकेकाले क्राइसिस म्यानेजमेन्ट कमिटीले जिल्ला अस्पतालको सिल खोली अस्पताललाई स्यानिटाइज गरी सेवा सुचारु गरेको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसीप्रसाद गुरागाइँले बताउनुभयो ।

प्रदेश नं. १ मा रहेका १४ जिल्लामा कोभिड नियन्त्रणका गतिविधिहरूलाई धनकुटामा रहेको स्वास्थ्य मन्त्रालयमार्फत सामाजिक विकास मन्त्रालयसँग निकट रहेर कोरोना सङ्क्रमण फैलन नदिन स्वास्थ्य निर्देशानालय धनकुटाले विभिन्न गतीविधि गरिरहेको छ ।

प्रदेश नं. १ को सातवटा जिल्लामा हाल कोरोना सङ्क्रमण देखिएको छ । जसमा उदयपुरको भुल्के भन्ने ठाउँमा बढी सङ्क्रमित देखिएको छ भने झापामा पनि सङ्क्रमण देखिएको छ ।
जिल्ला अस्पताल धनकुटामा कार्यरत स्वास्थ्यकर्मीमा नै सङ्क्रमण देखिएकाले जिल्ला अस्पताल धनकुटामा विगत जेठ ५ गतेदेखि सबै सेवा बन्द गरी अस्पताल सिल गरिएको थियो ।

अस्पतालका सेवामध्येका इमरजेन्सी र प्रसुती सेवा मात्र हाललाई सञ्चालन गरिरहेको प्रदेश स्वास्थ्य निर्देशानालय, धनकुटाका स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले जानकारी दिनुभयो ।
उहाँका अनुसार धरान घोपा क्याम्पबाट तीनजना चिकित्सक, चारजना नर्सिङ्ग कर्मचारी ल्याई सेवा दिइरहेको र गाउँपालिका भित्रकै एसबिए तालिम प्राप्त नर्सिङ्ग कर्मचारी ल्याउने, यसैगरी कार्यालय सहयोगी आवश्यक भएकाले तेह्रथुम, भोजपुर, संखुवासभालगायतका अस्पतालबाट व्यावस्थापन गर्ने तयारी भईरहेको छ ।

जिल्ला अस्पताल धनकुटाका स्वास्थ्यकर्मी भने आइसोलेसन र क्वारेन्टाइनमा रहेका छन् । धनकुटाबाट हालसम्म १९७ जनाको पिसिआर परीक्षण गरिएकोमा १८० जनाको रिपोर्ट आएको छ जसमा सात जनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाँकी १७३ जनाको रिर्पोट नेगेटिभ आएको छ । सत्र जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय, धनकुटाले जनाएको छ ।
धनकुटामा टाइम कार्ड लागु गर्दै खाद्यन्न, तरकारी र निर्माण समग्रीहरूको पसल बिहान ६ बजे देखि ९ बजे सम्म मात्र बिक्री वितरणका लागि खुल्ला गरिएको छ । यो समयमा घरघरमै गएर तरकारी बिक्री वितरण गरिरहेको देखिन्छ ।

जोखिम कम गर्न धनकुटा नगरपालिकाले सडक आसपास रहेका बैंक, सरकारी तथा अन्य कार्यालय, चौतारालगायत स्थानहरूमा भाइरसविरुद्धको औषधि छर्ने गरिरहेको छ ।
धनकुटा जिल्लामा धनकुटा अस्पतालका चार जना स्वास्थ्यकर्मी, दुई जना सुरक्षाकर्मी, एक जना स्वास्थ्यकर्मीको आफन्तलाई गरी जम्मा ७ जनामा कोरोना भाइरस देखिसकिएकाले सङ्क्रमणलाई बढ्न नदिन अझ कडाइ गरी सुरक्षा अपनाइएको हो । गोरखापत्र अनलाइनबाट साभार

Comments

comments