एसइई परीक्षार्थीलाई तयारीको अवसर

कोरोना भाइरस (कोभिड–१) संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारले माध्यमिक शिक्षा (एसइई) परीक्षालगायत सबै शैक्षिक संस्था बन्द गरेको छ । नयाँ मिति जारी नभएसम्म लागू हुनेगरी सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने सरकारको निणर्यले परीक्षाको तयारी गरेर बसेका विद्यार्थीमा केही असर परे पनि त्यसलाई सकारात्मक रूपमा लिन विज्ञले आग्रह गरेका छन् ।

शैक्षिक संस्था बन्द भएसँगै पढ्न नपाएका बालबालिकालाई पढ्ने समय मिलेको र परीक्षाको अझ राम्रो तयारी गर्ने अवसर प्राप्त भएका कारण विद्यार्थीलाई परीक्षा स्थगित भयो भनेर तनाव नलिन मनोविद्ले सुझाव
दिएका छन् । परीक्षाको तयारी गरेर बसेका विद्यार्थीमा परीक्षा कहिलेदेखि सुरु हुन्छ, कोरोना फैलियो भने के गर्ने, परीक्षा कसरी दिनेजस्ता शंका(उपशंका फैलिने भएकाले त्यसमा अभिभावकले ध्यान दिनुपर्ने मनोविद् गोपाल ढकालले बताए । ‘शैक्षिक संस्था तथा परीक्षा बन्द भएसँगै बालबालिकाको दैनिक जीवनमा परिवर्तन आएको छ,’ उनले भने ।

विद्यार्थीको सुत्ने, उठ्ने, खाने समय र दैनिक गर्ने कामलगायत सबै कुरामा परिवर्तन आएको ढकालको भनाइ छ । बालबालिकाले दैनिक गर्ने काम र समयमा आएको फरकपनले तनाव, डिप्रेसनजस्ता समस्या आउन सक्ने भएका कारण त्यसमा अभिभावकको ध्यान जान जरुरी रहेको उनी बताउँछन् । ‘सरकारले विद्यालय बन्द गर्नुका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेकाले बालबालिकालाई घरभित्रै रहने वातावरण अभिभावकले सिर्जना गर्नुपर्ने देखिन्छ,’ उनी भन्छन्, ‘घरबाहिर जाँदा कोरोना संक्रमण हुन सक्ने भएका कारण घरभित्र बालबालिकालाई सुरक्षित राख्नुपर्ने हुन्छ ।’

सामाजिक सञ्जालबाट पर राखौँ ?

सरकारले सबै विद्यालय तथा शैक्षिक संस्था बन्द गरेपछि विद्यार्थीहरू फुर्सदमा छन् । कोरोनाको उच्च जोखिम रहेकाले बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन पनि सरकारले आग्रह गरेको छ । त्यसैले धेरै बालबालिका सामाजिक सञ्जालमा व्यस्त हुने गर्छन् । पछिल्लोसमय सामाजिक सञ्जालमा कोरोना भाइरसको संक्रमणभन्दा सूचनाको अफवहा फैलिएका कारण बालबालिकाको मानसिकतामा असर पर्ने मनोविद् ढकाल बताउँछन् । बालबालिकाले सत्य, तथ्य सूचना छुट्याउन नसक्ने भएका कारण त्यसले बालमानसिकतामा असर पु(याउने उनको भनाइ छ । यसर्थ, उनले अभिभावकले आफ्ना बालबालिकालाई केही समय सामाजिक सञ्जालको पहँुचभन्दा बाहिर राख्नुपर्ने बताए ।

कोरोनालाई डराउने अस्त्रको रूपमा प्रयोग नगरौँ ?

शैक्षिक संस्था बन्द भएसँगै बालबालिकाले गर्ने दैनिक कार्य पनि फरक भएको छ । विद्यालय बन्द भएपछि साथीहरूसँग भेटघाट गर्ने र घुम्न जानेजस्ता योजना उनीहरूले बनाएका हुन्छन् । तर, अभिभावकले घरबाहिर निस्किन खोज्ने बालबालिकालाई डर देखाउन कोरोना संक्रमणको त्रास देखाउने गरिएकोमा त्यसो नगर्न मनोनिद् ढकालको सुझाब छ । ‘कोरोनालाई अस्त्रको रूपमा प्रयोग गर्ने गरेको देखेको छु,’ उनी भन्छन्, ‘बालबालिकालाई यसरी डर देखाउँदा उनीहरूको मानसिकतामा असर पर्छ ।’

तनावमुक्त राख्न के गर्ने ?

घरमै बस्नुपर्ने बाध्यताका कारण बालबालिकामा तनाव सिर्जना र एक्लोपनाको महसुसजस्ता समस्या आउन सक्ने मनोविद् ढकाल बताउँछन् । ‘त्यसैले, अभिभावकले बालबालिकाको खानपिनमा ध्यान दिने र उनीहरूको दैनिकीलाई सहजीकरण गरिदिन आवश्यक छ । उनी भन्छन्, ‘दैनिक व्यायाम गराउनेजस्ताक्रियाकलाप गर्नुपर्छ ।’ नयाँ पत्रिकाबाट साभार

Comments

comments