यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकको बयान सकियो

काठमाडौँ । छात्राहरुलाई यौन दुर्व्यवहारको आरोप लागेका ललितपुर चांगाथलीस्थित नारायण आधारभूत विद्यालयका शिक्षक नन्दप्रसाद निरौलाको सोमबार बयान सकिएको छ ।

उनलाई फागुन ७ मा जिल्ला अदालत ललितपुरले प्रहरीलाई पक्राउ गर्न अनुमति दिएपछि पाँच दिनको म्याद लिएर बयान लिइएको थियो।

अनुसन्धानमा प्रभाव पार्ने भन्दै उनको बयानलाई प्रहरीले सार्वजानिक गरेको छैन। सातदोबाटो प्रहरी वृतका डीएसपी मित्रबन्धु शर्माका अनुसार मंगलबारदेखि दोस्रो पटक सात दिने म्याद थप गरेर पीडित छात्रा र अभिभावकहरुको अनुसन्धान गर्ने प्रक्रिया बढाइएको छ। ‘हामी सबै अनुसन्धान सक्काएर घटनाको यथार्थ विवरण बाहिर ल्याउनेछौं,’ उनले भने।

मंगलबार नै एक अभिभावकले सातदोबाटो प्रहरीमा गएर घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै जाहेरी दिएका छन्। आरोपी शिक्षक फागुन २ देखि प्रहरी नियन्त्रणमा छन्।

फागुन १ मा आरोपित शिक्षकले तीन, चार र पाँच कक्षामा पढ्ने छात्राहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितले विद्यालयमा हस्तलिखित सामूहिक उजुरी गरेका थिए। उक्त उजुरीमा २६ छात्राका हस्ताक्षर गरेका छन्। आरोपित शिक्षक नारायण आधारभूतमा ५ कक्षासम्म सामाजिक विषय अध्यायपन गराउँछन्।

उनी यसअघि पनि यस्ता गतिविधिमा संलग्‍न थिए। पाटनको पाटन माध्यामिक विद्यालय र लाकुरीभञ्ज्याङ्गको कालीदेवी आधारभूत विद्यालयमा पढाउने क्रममा पनि महिलाहरुलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। कारबाही स्वरुप नारायण आधारभूत विद्यालयमा सरुवा भएर आएको पनि एक वर्ष पुगेको छैन। कान्तिपुर दैनिकबाट

Comments

comments