नीलबाराही माविकी प्रअ नेपाल सम्मानित

काठमाडौं । सार्वजनिक विद्यालयको सुधारमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै काठमाडौं कालिमाटी स्थित नीलबाराही माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. जानुका पौडेल नेपाल सम्मानित भएकी छन् ।

शिक्षा पत्रकार समूहले आफ्नो २० औं साधरण सभा एवं १० औं अधिवेशनको अवसरमा प्रअ नेपाललाई सम्मान गरेको हो ।

प्रअ नेपालले नाजुक अवस्थामा रहेको नीलबाराही माविलाई प्रअ हुनसाथ निरन्तर सुधार गर्दै लगेकी थिइन् । कुनैबेला विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेको विद्यालयलाई आज नेपालकै उत्कृष्ट विद्यालयहरु मध्येको एक बनाउन सफल प्रअ नेपाललाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेका हुन् ।

सम्मानित भएपछि प्रअ नेपालले आफूले २०६२ कार्यरत विद्यालयमा प्रधानाध्यापक हुँदा पूर्वाधार अभाव र सय जना मात्र विद्यार्थी रहेकामा हाल उचित वातावरण निर्माणसहित विद्यार्थी संख्या र गुणस्तर वृद्धि भएको बताइन् । सम्मानले आफुलाई अझ मिहिनेत गर्न हौसला मिलेको उनको भनाइ थियो ।

म २०४९ साल चैतमा देखि विद्यालयमा शिक्षकको रुपमा प्रवेश गरेकी नेपाल २०५९ सालदेखि सहायक प्रअ र २०६२ मा प्रअ बनेकी थिइन् ।

‘०६२ सालमा म प्रअ भएकी हुँ । त्यतिबेला विद्यालयको खातामा एक रुपैयाँ थिएन । विद्यार्थी संख्या कम थियो र पूर्वाधार पनि नभएकाले विद्यालय नै मर्ज हुने चर्चा शुरु भए । मसँग केवल विद्यालय बनाउनु पर्छ भन्ने सोंच बाँकी थियो । त्यहीँ सोंचले नै विद्यालय बनाउन सक्रियपूर्वक लागेँ । त्यो सक्रियतासँगै स्रोत पनि जुट्दै गयो । र विद्यालय आजको अवस्थामा पुग्यो ‘- प्रअ नेपालले भनिन् ।

प्रअ नेपालले हरेक वर्ष शिक्षण सिकाइ सुधारका लागि विद्यालय आफैंले एक हप्ता शिक्षक तालिम सञ्चालन गर्दै आएको छ र २०६३ सालदेखि नै कक्षा १ देखि ५ सम्म ग्रेड टिचिङ लागू गरेको बताइन् ।

निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धति सफलतापूर्वक लागू गर्दै आएको विद्यालयले हरेक शैक्षिक शत्रको शुरुमा वर्षभरी आवश्यक पर्ने शैक्षिक सामग्री निर्माण कार्यशाला गर्ने गरेको छ । शिक्षण सिकाइमा सूचना प्रविधि प्रयोगलाई जोड दिन विद्यालयमा इन्टरनेटयुक्त, स्मार्टबोर्ड र प्रोजेक्टरबाट शिक्षण सिकाइ गर्दै आएकोछ ।

परियोजना कार्य र इन्टरनेटबाट अनिवार्य सिकाउनुपर्ने व्यवस्था गरिएको छ भने शैक्षिक क्यालेण्डर बनाएर सो अनुसार अतिरिक्त क्रियाकलाप अघि बढाउँदै लगिएको छ ।

विद्यालयमा हरेक शनिबार साप्ताहिक परीक्षा र असहाय र पढाइमा कमजोर विद्यार्थीका लागि हरेक दिन एउटा उपचारात्मक कक्षा सञ्चालन हुने गरेको छ । आवश्यकताको पहिचान भएका असहाय र गरीब विद्यार्थीका लागि निःशुल्क खाजाको व्यवस्था गरिएको छ ।

यस्तै, समूहले बाँकेको सरस्वती माविका व्यवस्थापन समितिका अध्यक्ष धर्मसिंह थारुलाई पनि विद्यालयको व्यवस्थापनमा अनुकरणीय काम गरेको भन्दै सम्मान गरेको छ ।

समूहले हरेक वर्ष सार्वजनिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्दै आइरहेको छ । कार्यक्रममा समूहले प्रकाशन गरेको ʻविद्यालयमा माध्यमभाषा′ नामक पुस्तकको विमोचन गरिएको थियो । educationpati बाट साभार

Comments

comments