विद्यालय पठाउनै सकस, खोलामा विद्यार्थी खोज्दै शिक्षक

सिरहा । घरछेउमै भए पनि उनी विद्यालय जाँदिनन् । लहान नगरपालिकास्थित घलेटोलकी १२ वर्षीया सन्जु मरिक डोम घरमै भाइबहिनी खेलाउँदै दिन बिताउँछिन् । विद्यालय जाने उमेरका ७ वर्षीया बहिनी अमृता र ४ वर्षीय भाइ रोहितको हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा छ । परिवारका सदस्य बंगुरपालन र बाँसजन्य सामग्री उत्पादन तथा बिक्री गर्न व्यस्त छन् ।

सन्जु जस्तै दुई–चार पाइला हिँड्दा विद्यालय पुग्ने भए पनि आसपासका बालबालिका विद्यालय जाँदैनन् । उनीहरूले भाइबहिनीको हेरचाह गर्दै आएका छन् । ‘अरुका बालबालिका पढेको घरबाटै सुनिन्छ,’ सन्जुकी आमा लरुवतीले भनिन्, ‘हाम्रा बच्चा पढ्न जान मान्दैनन् ।’ अभिभावकले पनि विद्यालय पठाउन जोड दिएका छैनन् । ‘पढाएर के गर्नु रु जागिर पाइँदैन, मजदुरीमा नखटी धर हुन्न,’ उनले भनिन् । लहान नगरपालिका–५ बालुवा टोलका ११ वर्षीय प्रमोद प्लास्टिकका फोहोर संकलन गरी बिक्री गर्छन् । एक दिनमा ३ सय रुपैयाँ कमाउँछन् ।

घर नजिकै नवकाली आधारभूत विद्यालय छ । तर आर्थिक अवस्था कमजोर भएकाले उनी विद्यालय गएका छैनन् । ‘पढन गए दिनभर भोकै बस्नुपर्छ,’ उनले भने ।उनका अभिभावक पनि दैनिक मजदुरी गरेर गुजारा चलाउँछन् । सदरमुकाम सिरहा बजारमा शिक्षा कार्यालयको मूल गेटमै मुसहरी टोल छ । टोलका ५३ बालबालिकाको नामांकन बस्ती छेउकै २ कक्षासम्म पढाइ हुने नागेन्द्र गंगा गोहिवार आधारभूत विद्यालयमा छ । तर, त्यहीँका बालबालिका नियमित विद्यालय जाँदैनन् । कक्षा २ मा अध्ययनरत चन्द्रकला सदाय मुसहरले आमाबुबाले पढ्न नपठाउने गरेकाले दिनभर खेलेर बिताउने गरेको सुनाइन् ।

खोलामा विद्यार्थी खोज्दै शिक्षक
लहान नगरपालिका–१५ स्थित रामटोल छेवैमा कक्षा ५ सम्म पढाइ हुने आधारभूत विद्यालय छ । तर, कक्षा ४ का दलित करण कुमार राम, कक्षा ३ का गोविन्द र रामलोचन राम विद्यालय जाँदैनन् । बरु गाउँ नजिकैको खुट्टी खोलामा आमाबुबासँग दिनहुँ गिट्टीबालुवा चालिरहेका हुन्छन् । कक्षा ३ का रोलनम्बर १ भएका रामलोचन विद्यालय नआउँदा उनलाई खोज्न शिक्षक खोलामै पुगे पनि उनी विद्यालय आउन मान्दैनन् ।

विद्यालयमा अनुपस्थित हुने विद्यार्थीको खोजी गर्न विद्यालयले पटकपटक कार्यालय सहयोगी विक्रम मण्डललाई पठाउने गरेको छ । करणका बुवा रामविलास र आमा रुक्मिणीले भूमिहीन सुकुम्बासी भएकै कारण गिट्टी बालुवा चालेर गुजारा चलाउनुपर्ने भएकाले समस्या भएको र बालबच्चासमेत विद्यालय जान नमान्ने गरेको सुनाए । कक्षा ५ सम्म पढाइ हुने विद्यालयमा १ सय ३७ बालबालिका अध्ययनरत छन् ।

तीमध्ये सबैभन्दा बढी दलित समुदायका बालबालिका छन् । विद्यालयले बालबालिकालाई खाजाभत्ता समेत उपलब्ध गराउँदै आएको छ । विद्यालयका प्रधानाध्यापक उद्धव हमालले अभिभावकलाई पटकपटक बालबालिकालाई विद्यालय पठाउन भने पनि उल्टै काम गर्न लगेको बताए । काममा लैजाने प्रवृत्तिले केही बालबालिकालाई विद्यालयमा ल्याउन कठिन भएको उनको भनाइ छ ।

गरिब र दलित समुदायका बालबालिकालाई विद्यालयमा आकर्षण गर्न राज्यले निःशुल्क अध्ययन, पोशाक, पुस्तकको व्यवस्था गरेको छ । छात्रवृत्ति तथा खाजा कार्यक्रम ल्याएको छ । तर, जीविकोपार्जनको समस्याले विपन्न अभिभावकले अझ पनि आफ्ना बालबालिकालाई नियमित अध्ययन गराउन विद्यालय नपठाउने गरेको पाइएको छ ।

शिक्षा कार्यालयको तथ्यांकअनुसार सिरहामा ४२३ सामुदायिक विद्यालय छन् । अधिकांश विद्यालयमा दलित विद्यार्थीको संख्या धेरै छ । जिल्लाको साक्षरता ४६ प्रतिशत मात्र छ । सिरहाका लहान नगरपालिका, धनगढीमाई, मिर्चैया, गोलबजार नगरपालिका र नरहा गाउँपालिकाले विद्यालय भर्नाको पूर्ण घोषणा गरेका छन् । तर साक्षरता दर नबढ्नुमा दलित समुदायका बालबालिका विद्यालय नजाने समस्या प्रमुख देखिएको छ । यसलाई समाधान गर्न शिक्षक, स्थानीय अभिभावक तथा समाजसेवीको पनि भूमिका जरुरी भएको सरोकारवालाको भनाइ छ ।

जिल्लाका सामुदायिक विद्यालयमा अन्य समुदायका विद्यार्थीको संख्या पनि घटेको छ । ‘शिक्षक अभिभावक शैक्षिक सुधारमा सक्रिय हुनुपर्छ,’ दलित अधिकारकर्मी उमेश विसुन्केले भने, ‘निम्छरो र दलित विद्यार्थीमात्र होइन सबैको बालबालिका पढ्ने विद्यालयका लागि पठन पाठनमा सुधार हुन आवश्यक छ ।’ कान्तिपुरदैनिकबाट साभार

Comments

comments