अपांगमैत्री शैक्षिक संरचना नहुँदा सकसमा विद्यार्थी

गत ३ पुसमा भएको त्रिभुवन विश्वविद्यालयको ४५औँ दीक्षान्त समारोहमा दीक्षित हुन आएका नुवाकोटका हरिचन्द्र श्रेष्ठलाई कार्यक्रमस्थलसम्म पुग्न निकै कठिन भयो ।
२०७२ सालको भुकम्पमा परेर मेरुदण्ड भाँचिएपछि श्रेष्ठको कम्मरभन्दा मुनिको भाग चल्दैन । भुकम्पका बेला शंकरदेव क्याम्पसमा स्नातक पढिरहेका उनले बाँकी पढाइ घरबाटै गर्नु पर्‍यो । उनले भने, ‘क्याम्पसका कक्षाकोठा ह्वीलचेयर गुडाउन मिल्ने थिएनन् । घरमै पढेर परीक्षामा मात्र सहभागी भएँ ।’

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेर दीक्षित भएकी श्रीद्धि श्रेष्ठले शैक्षिक संस्थाका संरचना अपाङ्गमैत्री नहुँदा कक्षाकोठादेखि शौचालयसम्म समस्या भोग्नुपरेको दुखेसो पोखिन् ।

श्रेष्ठद्वय यस्तो समस्या भोग्ने प्रतिनिधि पात्र मात्र हुन् । २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्याको करिब २ प्रतिशत अपांगता भएका छन् । २०७२ सालको भूकम्पपछि यो संख्या झनै बढ्ने देखिन्छ । यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा ३० लाखभन्दा बढी मानिस कुनै न कुनै रूपमा अपांग भएको दावी गरेको छ ।

मौलिक हकको ‘उपहास’
नेपालको वर्तमान संविधानले नागरिकका आधारभूत अधिकारको दायरा फराकिलो पार्दै ३१ वटा पुर्‍याएको छ । मौलिक हक तथा संविधानका अन्य व्यवस्थाले सामाजिक संरक्षण आवश्यक रहेका समुदाय तथा व्यक्तिलाई विशेष अधिकारसमेत प्रदान गरेको छ । तर, नीतिगत व्यवस्था कार्यान्वयनकर्ता तथा हाम्रा पूर्वाधारले त्यस्ता व्यक्ति तथा समुदायलाई विशेष अधिकार त के आधारभूत अधिकार र आवश्यकताबाट समेत बन्चित हुनुपर्ने अवस्था छ ।
मौलिक हकअन्तर्गत धारा ३१ ले अपांगता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गरेको छ । यस्तै धारा ३९ को बालबालिकासम्बन्धी हकमा ‘असहाय, अनाथ, अपांगता भएका, द्वन्द्वपीडित, विस्थापित एवं जोखिममा रहेका बालबालिकालाई राज्यबाट विशेष संरक्षण र सुविधा पाउने व्यवस्था छ । तर, स्कुल, कलेजको गेटसम्म कष्टले पुग्ने अपांगता भएका विद्यार्थीले अपांगमैत्री कक्षाकोठा, शौचालय नहुँदा सहजै पढ्न पाएका छैनन् ।

प्राथमिकतामै पर्दैन अपांगमैत्री संरचना
सरकारले पछिल्लो समय विद्यार्थीको नियमित उपस्थितिका लागि दिवा खाजा कार्यक्रम, छात्रालाई सेनिटरी प्याड वितरण, ‘एक विद्यालय, एक नर्स’जस्ता लोकप्रिय कार्यक्रम सञ्चालनमा ल्याएको छ । तर, अपांगमैत्री विद्यालय नहुँदा पढ्नबाट बन्चित बनेका बालबालिकाको पढ्न पाउने अधिकारप्रति भने सम्बन्धित निकाय संवेदनशील देखिँदैन ।
उच्च शिक्षाअन्तर्गत करिब ८० प्रतिशत विद्यार्थी व्यवस्थापन गर्ने त्रिभुवन विश्वविद्यालय र यससँग सम्बन्धन लिएका क्याम्पसका अधिकांश भौतिक संरचना अपांगमैत्री छैनन् ।

नयाँ भवनहरू अपांगमैत्री बनाइँदै
शंकरदेव क्याम्पसका पुराना भवनहरू अपांगमैत्री नभए पनि २६ करोडको लागतमा बन्न लागेको क्याम्पसको नयाँ भवन अपांगमैत्री हुने क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले बताए । उनले अहिले बन्दै गरेको भवनमा ह्वीलचेयर लान मिल्ने र लिफ्ट सिस्टम भएको जानकारी दिए । शंकरदेव क्याम्पसले अपांगता भएका विद्यार्थीका लागि लाइबे्ररीको शुल्कबाहेक अन्य सबै निःशुल्क गरेको छ ।
भृकुटीमण्डप प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसका पुराना भवन, कक्षाकोठा कुनै पनि अपांगमैत्री छैनन् । अपांगमैत्री संरचना चाहिन्छ भन्ने सोच नै नभएकाले अपांगमैत्री भवन, कक्षाकोठा नभएको क्याम्पस प्रमुख डा। निर्मलाकुमारी सुवालको भनाइ छ । उनले अपांगमैत्री भवन नभए पनि उच्च शिक्षाका लागि आउने अपांगता भएका विद्यार्थीका लागि भूइँतलाको कक्षाकोठा प्रयोग गरेर व्यवस्थापन गरिएको बताइन् । उनले नयाँ भवन अपांगमैत्री बनाउने योजना रहेको पनि स्पष्ट पारिन् ।
पुराना शैक्षिक संरचना अपांगमैत्री नभए पनि नयाँ बन्ने तथा बन्दै गरेको शैक्षिक संरचना अपांगमैत्री हुने शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताए । सरकारले भवन निर्माण आचारसंहिता र विद्यालय क्षेत्र विकास कार्यक्रममा नयाँ विद्यालय भवन, कक्षाकोठा, शौचालय अपांगमैत्री हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको उनले बताए ।  नयाँ पत्रिकाबाट साभार

Comments

comments