अभिभावक पनि सडकमा

 

चितवन मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग राख्दै आइतबार विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका छन् । प्रदर्शनमा अन्य मेडिकल कलेजका विद्यार्थी पनि सहभागी भए ।

वीरेन्द्र क्याम्पसबाट सुरु भएको प्रदर्शन नारायणगढ सहिदचोक हुँदै चौबिसकोठी फर्केर कोणसभामा परिणत भएको थियो । कोणसभामा विद्यार्थी र अभिभावकले तत्काल शुल्क फिर्ता गर्न कलेज प्रशासनसँग माग गरे । विद्यार्थीले गठन गरेको चिकित्सा शिक्षा संघर्ष समितिले कलेजको शिक्षण अस्पतालअगाडि विरोध कार्यक्रम गर्ने घोषणा गरेको थियो । तर पूर्वनिर्धारित कार्यक्रम बिथोल्न कलेज परिसरमा शनिबार साँझ हतियार फेला परेको प्रचार गरिएको आरोप विद्यार्थीले लगाएका छन् । चौबिसकोठी चोकमा सशस्त्र प्रहरीको समूहले पहरा दिएको थियो । सीएमसीको शिक्षण अस्पताल गेटमा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरू सुरक्षाका लागि तैनाथ थिए ।

संघर्ष समितिका संयोजक प्रकाश चन्द कार्यक्रममा देखिएनन् । उनी प्रतिबन्धित चन्द समूहका नेता नेत्रविक्रम चन्दका छोरा हुन् । प्रकाशले अगुवाइ गरेका कारण कलेजले यसअघि नै यो आन्दोलन कसैको राजनीतिक अभीष्ट पूरा गर्न सञ्चालन भएको दाबी गरेको थियो । कलेजमा भदौदेखि आन्दोलन चल्दै आएको छ ।

असोज ४ गते चितवन जिल्ला प्रशासन कार्यालयमा कलेज सञ्चालक, विद्यार्थी र अभिभावकबीच भएको वार्तामा कात्तिक १८ गतेभित्र सरकारले तोकेकोभन्दा बढी शुल्क फिर्ता वा समायोजन गर्न कलेज प्रशासन तयार भएको थियो । चितवन मेडिकल कलेजका सञ्चालक डा। हरिश न्यौपानेले कात्तिक १५ मा पत्रकार सम्मेलन गरेर शैक्षिक सत्र ०७५र७६ मा भर्ना भएका एमबीबीएस र बीडीएसका विद्यार्थीको शुल्क मात्र समायोजन गर्ने जानकारी दिएका थिए ।

Comments

comments