चामलको राजनीति गरिनु शिक्षाको कमी भएको सांसदहरुको गुनासो

 

हुम्लामा अहिले पनि चामलको राजनीति नहट्नुमा शिक्षाको कमी भएको जिल्लाका सांसदहरुले बताएका छन् । सिमकोटमा आयोजित शिक्षा सम्बन्धि एक कार्यक्रममा जिल्लामा शिक्षाको अवस्था नै ढुवानी अनुदानको खाद्यान्न आपुर्तिमा टेवा पुग्ने किसिमले पठन–पाठन भएको कारण यसलाई अब समयानुकुल बनाउनु आवश्यक रहेको सासदहरुले जोड दिएका हुन् ।

हुम्ला जिल्लामा अर्गानिक उत्पादन हुँदा–हुँदै विद्यालयहरुमा यसको पठन–पाठन तथा वकालत नगरिँदा अहिलेका विद्याथीहरु सबै बाहिरबाट आयातित सेतो चामल प्रति आर्कषित हुनु समयानुकुल प्राविधिक शिक्षाको कमी भएको पूर्वमन्त्री एवं कर्णाली प्रदेश सभामा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीले बताए । यसका लागि राजनीति ब्यक्तिबाटै कमीकमजोरी भएको र सो गल्ती आफु स्वीकार गर्न तयार रहेको उनले बताए ।

पछिल्लो पुस्ता आयातित चामलको भात मात्र खाने भएको बताउदै उनीहरुको खानेबानीमा परिवर्तन ल्याउन शिक्षाको आवश्यकता रहेको उनले बताए । शिक्षा विकास तथा समन्वय इकाई हुम्लाले आयोजना गरेको चालु आर्थिक वर्षको कार्र्यक्रमबारे अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता शाहीले अब स्थानीय उत्पादनमुखी प्राबिधिक शिक्षामा जोड दिनु पर्ने बताए । यसका लागि प्राविधिक र ब्यवहारिक शिक्षामा अब स्थानीय सरकारहरुले जोड दिनु पर्ने उनले औंल्याए ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने अर्का सासद रंगमति शाहीले हिजो जे थियो आज पनि त्यही शिक्षाको। कारण समाजमा परिवर्तन गर्न कठिन भएको बताईन । अब स्थानीय सरकारहरु आफै शक्तिशाली भएको कारण जिल्लाको आबश्यकता र वातावरण अनुसारको शिक्षा लागु गर्न उनले आग्रह गरिन् । कार्यक्रममा अदानचुली गाउँपाकिलाका अध्यक्ष दल बहादुर फडेराले सबै कुराको परिबर्तन शिक्षाबाट संभब हुने भएको हुँदा अब प्राविधिक र नैतिक शिक्षको आबश्यकता रहेको बताए । कर्णाली प्रदेश सरकार आफ्नै किसिमले अगाडी बढेकोले शिक्षा क्षेत्रमा काम गर्न गाउँपालिकालाई कठिन भएको उनले बताए । सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षा हेर्ने सम्पर्क ब्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

Comments

comments