मदन भण्डारी विश्वविद्यालय काभ्रेमा

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय काभ्रेमा स्थापनाका लागि प्रक्रिया अघि बढेको छ । काभ्रेको पाँचखाल नगरपालिकामा विश्वविद्यालय स्थापना लागि जग्गाको तय भएपछि प्रक्रिया अघि बढाइएको हो ।

यसअघि विश्वविद्यालय मकवानपुरको चित्लाङमा स्थापना गर्न अध्ययन भएको थियो । तर, प्राविधिक टोलीले त्यहाँ पायक नपर्ने बताएपछि उपत्यकाबाट करिब ४० किलोमिटरको दूरीमा रहेको पाँचखालमा स्थापना हुन लागेको हो ।

विश्वविद्यालय स्थापनाका लागि पाँचखालको चरुवामा पाँच हजार रोपनी जग्गाको टुंगो लागिसकेको र छिट्टै शिलान्यास हुने पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए । विश्वविद्यालयसम्बन्धी विधेयक गत साउनमा संसद्मा दर्ता भइसकेको छ । विधेयक संसदीय समितिमा छलफलको क्रममा छ ।

पाँचखालमा आयोजना नै आयोजना

पाँचखाल नगरपालिकामा एक दर्जन विकासका आयोजना अघि बढेका छन् । ६ हजार घरमा धारा पु(याउने उद्देश्यले दुई अर्ब २२ करोड लागतको सुनकोसी पाँचखाल उपत्यकाका खानेपानी आयोजना केही दिनअघि मात्र सुरु भएको छ । सुनकोसी नदीबाट पलाञ्चोक मन्दिरमा पानी तानेर वितरण गर्ने आयोजन टेन्डर प्रक्रियामा गएको छ ।

त्यस्तै, हरित महिला औद्योगिक ग्राम स्थापना गर्न लागिएको छ । सार्क महिला उद्यमी र अन्य महिला उद्यमीले यहाँ १४ वटा घरेलु उद्योग स्थापना गर्न लागेका छन् ।

शिखरपुरमा यसको प्रक्रिया अघि बढिसकेको छ । युवाहरूका लागि युथ इनोभेसन सेन्टर स्थापना प्रक्रिया अघि बढेको छ । साथै, काठमाडौं विश्वविद्यालयको कृषि विभाग पाँचखालको अनेकोटमा स्थापना हुने भएको छ ।

विशेष आर्थिक क्षेत्रअन्तर्गत ५७ हजार उद्योग स्थापनाको प्रक्रिया पनि अघि बढेको छ । रूख कटान गरी सेज निर्माण सुरु गरिएको छ । जसबाट पाँच हजारजनाले रोजगारी पाउने नगर प्रमुख खरेलले बताए ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटा, प्रदेश सांसद लक्ष्मण लम्साल र आफू मिलेर विकासलाई प्रमुख नारा बनाएर काम थालिएको खरेलको भनाइ छ ।

‘हामी फरक पार्टीका भए पनि विकासमा एकजुट भएर लागेका छौँ, विकासवाद नै हाम्रो मुख्य नारा हो,’ खरेलले भने, ‘पाँचखाललाई केही वर्षभित्रै समृद्ध उपत्यका बनाउँछौँ ।’ नयाँ पत्रिकाबाट

Comments

comments