ज्ञापनपत्र बुझाउन गएका युनिभर्सल कलेजका विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप

काठमाडौं । बढी शुल्क लिएको भन्दै कलेज विरोधमा उत्रिएका भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजका विद्यार्थीमाथि हातपात भएको छ।

कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले शुरु गरेको आन्दोलनमा दोश्रो दिन प्रहरीले हस्तक्षेप गरेको आरोप विद्यार्थीहरूले लगाएका छन्।

अतिरिक्त शुल्क हटाउनु पर्ने माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाउन लाग्दा प्रहरीले विद्यार्थीमाथि लाठी चार्ज गरेको चिकित्सा शिक्षा संघर्ष समितिका प्रवत्ता नरेश भट्टले जानकारी दिए। भट्टका अनुसार प्रहरीको लाठी चार्जबाट १० जना विद्यार्थी घाइते भएका छन्। आन्दोलनमा सहभागी विद्यार्थीलाई अस्पताल प्रवेशमा समेत रोक लगाइएको उनले बताए।

उता प्रहरीले भने सो कलेजका विद्यार्थीमाथि लाठीचार्ज नभएको दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता खड्क बहादुर खत्रीले विद्यार्थीहरुले गेटमा धर्ना बसेर एम्बुलेन्सलगायतका अत्यावश्यक साधन रोक्न खोज्दा सामान्य धकेलाधकल मात्रै भएको बताए।

कलेजका विद्यार्थीहरुले केही दिनअघि मेडिकल कलेजले अवैधानिक रुपमा असुलेको शुल्क फिर्ता गर्न माग गर्दै आइओएममा निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन बित्दा पनि कलेज प्रशासनले पैसा फिर्ता गर्न चासो नदेखाएपछि विद्यार्थीलेहरूले आन्दोलन सुरु गरेको प्रवता भट्टले बताए। पछि प्रहरीले दमन नै गरेको उनको भनाइ छ।

प्रवक्ता भट्टले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ुभर्खरै प्रहरी प्राशासनबाट युसिएमएसका विद्यार्थीमाथि बर्सिएका लाठी र गुण्डाहरुले धम्की दिएको घटनाको हामी घोर भत्सर्ना गर्दछौं। घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण होस्।ु

अवैधानिक शुल्क फिर्ता गराइदिन सहयोग माग गर्दै युनिभर्सलका विद्यार्थीहरू बिहीबार जिल्ला प्रशासन कार्यालयसमेत पुगेका थिए। विद्यार्थीहरुले गुनासो गरेपछि प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले सरकारले निर्णय गरिसकेकोले तोकेभन्दा बढी लिएको पैसा फिर्ता गराउन सहयोग गर्ने आश्वासन दिएका थिए।

‘प्रमुख जिल्ला अधिकारीले हामीलाई धेरै पैसा तिरेको प्रमाण ल्याउनु भन्नु भएको छ। पैसा लिँदा कलेजले बिल दिएको छैन। तैपनि ठीकै छ भन्दै हामी कलेज फर्कियौं,’ एमबिबिएस प्रथम वर्षमा अध्ययनरत एक विद्यार्थीले भने, ‘अहिले त प्रशासनले हामीलाई कलेज प्रवेशमै रोक लगाएको छ।’

कलेजमा पढ्ने अधिकांश विद्यार्थी होस्टेलमा बस्छन्। आन्दोलन थालेको भन्दै कलेज प्रशासनले उनीहरूलाई रात परिसक्दा पनि कलेजभित्र पस्न नदिएको विद्यार्थीले बताएका छन्।

सरकारले तोकेभन्दा १० देखि १५ लाख रुपैयाँसम्म बढी शुल्क असुलेको विद्यार्थीहरूको आरोप छ।

कलेज प्रशासनले कलेज बाहिरका विद्यार्थी ल्याएको भन्दै विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको बताएको छ। चिकित्सा शिक्षा संघर्ष समितिका विद्यार्थी पनि युनिभर्सलका विद्यार्थीलाई साथ दिन त्यहाँ पुगेका थिए।

विद्यार्थीहरुको आन्दोलनका विषयमा कलेजका जनसम्पर्क अधिकृत शुशील गुरुङ्गले विद्यार्थीमाथि लाठी चार्ज नभएको दाबी गरे। उनले बिरामीलाई विद्यार्थीले उपचार गर्न जान नै रोक लगाएपछि प्रहरीले बाटो क्लियर गराएको मात्र बताए।

कलेजभन्दा बाहिरका विद्यार्थी आएर आन्दोलन गरेका कारण होस्टल जान रोक लगाएको उनको भनाइ छ। उनले समस्या समाधानका लागि अस्पताल प्रशासन छलफल गर्न तयार रहेको जानकारी दिए।

पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज र वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका विद्यार्थीले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै आन्दोलन थालेका थिए।

सरकारले एक महिनाअघि त्रिविले तोकेभन्दा बढी पैसा लिएको भए फिर्ता दिन निर्देशन दिएको थियो। तर, रकम फिर्ता गर्न कलेजहरूले आनाकानी गरिरहेका छन्। नेपाल लाइभबाट

Comments

comments