पूर्वाञ्चलमा बेथिति : कामु उपकुलपति कार्यकक्षबाहिरै

विराटनगर  । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा घनश्यामलाल दासको कार्यकाल भदौ ६ गते सकियो । उनको ठाउँमा नियुक्त भए प्राडा विजुकुमार थपलिया । विश्वविद्यालयको कायममुकायम उपकुलपतिका रूपमा नियुक्ति पाए पनि उनी अझै आफ्नो कार्यकक्षमा छिर्न पाएका छैनन् । दासकै कार्यकालमा उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा लागेको ताला नखुल्दा थपलिया यतिबेला कार्यकक्षबाहिरै छन् ।

विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा बद्रीनाथ श्रेष्ठको कार्यकाल पनि भदौ पहिलो साता सकिएको छ । तर, सरकारले अझै आयोग अध्यक्ष नियुक्त गरेको छैन । श्रेष्ठले जाँदाजाँदै व्यवस्थापन संकायको प्राध्यापकमा जीवन ढकाल र सहप्राध्यापकमा शैलेन्द्र सिवाकोटीलाई मौखिक परीक्षा लिएर नियुक्त गरेका थिए । यसैको विरोधमा सत्तारूढ नेकपानिकट विद्यार्थी संगठनले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

‘नियुक्तिको विरोधमा नेकपानिकट विद्यार्थी संगठनले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षमा तालाबन्दी गर्‍यो,’ विश्वविद्यालय स्रोतले भन्यो, ‘त्यही नियुक्तिको समर्थनमा नेपाल विद्यार्थी संघले उपकुलपति र रजिस्ट्रारको कार्यकक्षसहित विश्वविद्यालयको प्रशासन र आर्थिक विभागमा तालाबन्दी गरे ।’

विद्युतीय हाजिरी मेसिन भएको कोठामा चाहिँ ताला नलागेका कारण कर्मचारी सरासर त्यहाँ पुग्छन् र बरन्डामा दिनभर बसेर घर फर्कन्छन् ।

सत्तारूढ नेकपा र प्रतिपक्षी कांग्रेसका विद्यार्थी संगठनले विश्वविद्यालयको केन्द्रीय कार्यालयका सबै क्षेत्रमा तालाबन्दी गरे पनि असोज १० गते काठमाडौंमा विश्वविद्यालयको ३० औं सभा गरेर बजेट कार्यक्रम पारित गरेको विश्वविद्यालय स्रोतले बतायो ।

तर, सभाले विश्वविद्यालयको कार्यकारी परिषद्लाई भने पूर्णता दिन सकेन । पाँच सदस्यीय हुनुपर्ने कार्यकारी परिषद्मा दुई वर्षदेखि दुई सदस्यमात्र छन् । परिषद्को सदस्यमा शिक्षकका तर्फबाट एक र डिनका तर्फबाट दुई सदस्य मनोनीत गरिनुपर्नेमा त्यसो हुन नसकेको स्रोतको भनाइ छ । त्यसैगरी विश्वविद्यालयको प्राज्ञिक परिषद्ले पनि पूर्णता पाएको छैन ।

‘जिम्मेवारी पाएको दुई महिना बित्यो, तर एक दिन पनि आफ्नो कार्यकक्ष छिर्न पाएको छैन,’ थपलियाले भने, ‘सेवा आयोग बेग्लै निकाय हो । आयोगको विषयमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्नु आफैंमा अनौठो हो ।’

यही विषयमा तालाबन्दी गर्ने विद्यार्थी संगठनलाई पटक–पटक सम्झाउने प्रयास गरे पनि सफल हुन नसक्दा विश्वविद्यालयको दैनिक कार्य सञ्चालनमै समस्या भएको थपलियाले बताए । नेकपानिकट विद्यार्थी संगठनले सेवा आयोगले गरेको नियुक्ति बदर गर्नुपर्ने र नेविसंघले नियुक्तिलाई सदर गर्नुपर्ने अडान नछाड्दा ताला खुल्न नसकेको हो। कान्तिपुर दैनिकबाट

Comments

comments