स्कुले विद्यार्थीलाई सिकाए मुटुरोगको जोखिम कम

काठमाडौँ । मुटुरोगको जोखिम घटाउने व्यवहार अनुसरण गर्नेमा विद्यार्थी अगाडि छन् । १० देखि १९ वर्षका बालबालिका र युवामा सकारात्मक परिवर्तन आएको अध्ययनमा पाइएको हो । उनीहरूले गर्दै आएको जोखिमपूर्ण व्यवहारमा सुधार आएको अध्ययनले देखाएको छ । धेरैले बोतलका चिसो पेय पदार्थको सेवन गर्ने बानी छाडेका हुन् ।

मुटुरोगका मुख्य ५ जोखिम कारकमा सुर्तीजन्य पदार्थ सेवन, मदिरापान, पत्रु खाना, बोतलमा आउने पेय पदार्थ सेवन, शारीरिक श्रम पर्ने क्रियाकलाप नगर्नु र मानसिक तनाव पर्छन् । भाष्कर तेजश्री स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा सार्वजनिक गरेको मुटुरोगको जोखिमपूर्ण व्यवहार न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदनमा सकारात्मक परिवर्तन आएको पाइएको उल्लेख छ । यो अध्ययन सातै प्रदेशका सामुदायिक विद्यालयहरूका ४ हजार २ सय २५ किशोरकिशोरी र युवा विद्यार्थीमा गरिएको थियो । अध्ययनमा २ हजार २ सय ८८ छात्रा र १ हजार ९ सय ३७ छात्र सहभागी थिए ।

‘विद्यार्थीमा मुटुरोगविरुद्धको जनचेतना फैलाउँदा समस्यालाई जरैदेखि रोक्न सकिन्छ भन्ने देखियो,’ अध्ययन प्रस्तोता डा। रीता थापाले भनिन्, ‘जोखिमपूर्ण व्यवहारमध्ये बोतलको चिसो पेय पदार्थको उपयोग घट्यो, तर फलफूलको सेवन गर्ने बानी बढेको छैन ।’ अध्ययनअनुसार प्रदेशमा २ मा सबै जोखिम व्यवहार तथ्यांकीय रूपमा घटेको पाइएको छ । अझ सातै प्रदेशमा किशोरको दाँजोमा किशोरीहरूको जोखिम व्यवहारमा बढी परिवर्तन आएको देखिएको छ । यसअन्तर्गत चुरोट सेवन गर्ने पुरुषमा १७ प्रतिशतले कमी आएको पाइएको छ भने महिलामा ५२ प्रतिशतले कमी आएको छ ।

मदिरापानमा पुरुषमा ११ प्रतिशतले र महिलामा ४७ प्रतिशतले कमी आएको पाइएको छ । यस्तै स्वस्थकर खानेकुराअन्तर्गत भुटेको बदाम र उसिनेको अन्डा सेवनमा वृद्घि भए पनि फलफूल र सागसब्जी सेवनमा तथ्यांकीय वृद्घि नदेखिएको डा। थापाले बताइन् । ‘फलफूल र सागसब्जी सेवनको बानी बढेको नदेखिनुको कारण पत्रु खानाको बढ्दो विज्ञापन र स्वस्थकर खानेकुरा कम उपलब्ध हुनु वा आर्थिक अवस्था आदि कारक हुन सक्छ,’ उनले भनिन्, ‘नवयुवामा जानकारी पुस्तिकाको प्रयोगबाट मुटुरोगका जोखिमहरू ६ महिनामै तथ्यांकीय रूपमा कमी ल्याउन सकिन्छ भन्ने प्रमाणित भयो ।’ जोखिम व्यवहार घट्ने क्रमको दिगो निरन्तरताबाट मात्र मुटुरोगलाई नियन्त्रण गर्न सकिने उनले बताइन् ।

विशेषज्ञहरूका अनुसार मुलुकमा नसर्ने रोगमध्ये मुटुसम्बन्धी समस्याबाट पीडित हुनेको संख्या बर्सेनि बढेको छ । कुल मृत्युको करिब ३० प्रतिशत हृदयरोगबाट हुने गरेको छ भने कम उमेरमै मुटुरोगको सिकार हुनेहरूको संख्यासमेत बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रारम्भिक जोखिम हटाउन सके करिब मुटुरोगका जोखिम ८० प्रतिशत कम हुन सक्छ । मुलुकमा हाल नसर्ने रोगबाट दुईतिहाइको मृत्यु भइरहेको छ ।

यसमा मुटुसम्बन्धी रोगले मर्नेको दर उल्लेख्य रहेको औंल्याउँदै मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले उच्च रक्तचापसमेत एउटा प्रमुख कारण रहेको बताए । स्कुलेलाई मुटु लगायतका रोगबारे जानकारी दिँदा यसले उनीहरूमा मात्र नभई परिवारका सदस्यहरूको स्वास्थ्यमा समेत सकारात्मक परिवर्तन ल्याउने उनको भनाइ छ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले हाल मुलुकमा बढ्दो नसर्ने रोगको अवस्थासँग जुध्न विद्यार्थीदेखि आम जनमानससम्म स्वस्थकर सकारात्मक व्यवहार परिवर्तनको खाँचो औंल्याए । ‘यसका लागि हामीले सबै निकायका चेतना अभिवृद्धिसम्बन्धी कार्यक्रमलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्ने खाँचो छ,’ उनले भने । डा. दिनेश न्यौपानेले विद्यार्थीमार्फत स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई लग्दा प्रभावकारी हुने बताए । सन् २०१५ मा गरिएको स्कुल आधारित विद्यार्थीको विश्वव्यापी स्वास्थ्य सर्वेक्षणमा नेपालमा १४ प्रतिशत १० देखि १९ वर्षसम्मका स्कुले आत्महत्या गर्ने सोच राख्छन् । यस्तै ९ प्रतिशत तमाखु सेवन गर्छन् भने ५।५ प्रतिशत मदिरा सेवन गर्छन् । यस्तै ३३ प्रतिशतले दिनहुँ एकदेखि चार पटक बोतलका चिसो लगायतका कार्बोनेटेड पेय पदार्थ सेवन गर्छन् । कान्तिपुर दैनिकबाट

Comments

comments