कक्षा १२ मा जीवनोपयोगी शिक्षा’ अनिवार्य

काठमाडौं : पाठ्यक्रम विकास केन्द्रले कक्षा १२ का विद्यार्थीलाई ‘जीवनोपयोगी शिक्षा’ अनिवार्य गरेको छ । शैक्षिक सत्र (२०७७०) देखि कक्षा ११ मा सामाजिक अध्ययन र कक्षा १२ मा जीवनोपयोगी शिक्षा पढाइन लागेको हो ।

राष्ट्रिय पाठ्यक्रम प्रारूप स्वीकृत भएसँगै कक्षा ११ र १२ मा संकाय प्रणाली अन्त्य गर्दै ६ विषय पढाइँदै छ । यसअनुसार ३ विषय अनिवार्य र ३ विषय ऐच्छिक हुनेछन् । कक्षा ११ मा नेपाली, अंग्रेजी र सामाजिक अध्ययन तथा कक्षा १२ मा नेपाली, अंग्रेजीसहित जीवनोपयोगी शिक्षा अनिवार्य विषय रहने केन्द्रले जनाएको छ ।

अनिवार्यबाहेक दुवै कक्षामा विद्यार्थीले थप ३ ऐच्छिक विषय अध्ययन गर्न पाउनेछन् । ‘अहिलेको जस्तो संकाय हुँदैन, विद्यार्थीले उच्च शिक्षामा कुन क्षेत्र रोज्ने त्यहीअनुसार विषय छानेर पढ्न पाउँछन्,’ केन्द्रका सूचना अधिकारी गणेशप्रसाद भट्टराईले भने, ‘उदाहरणका लागि विज्ञान ऐच्छिक रोज्ने विद्यार्थीले अन्य क्षेत्रको जुन कुनै विषय पनि रोज्न सक्छ, सबै ऐच्छिक विषय विज्ञान नै पढ्छु भने पनि पाउँछ ।’

केन्द्रले ७० वटा विषयको पाठ्यक्रम निर्माण गरिरहेको छ । चालु वर्षभित्र पाठ्यक्रमअनुसार पाठ्यपुस्तक छपाएर आउँदो शैक्षिक सत्रदेखि कार्यान्वयनमा लैजान लागिएको हो ।

यही वर्ष केही विद्यालयमा नयाँ पाठ्यक्रम नमुना परीक्षण गर्ने योजना भए पनि परीक्षामा समस्या हुने देखिएपछि केन्द्र पछि हटेको छ । कक्षा ११ र १२ मा राष्ट्रिय परीक्षा बोर्डले राष्ट्रियस्तरको परीक्षा सञ्चालन गर्छ । केही विद्यालयमा मात्र नयाँ पाठ्यक्रम परीक्षण गर्दा प्रश्नपत्र बनाउनेलगायत काममा झन्झट हुने भट्टराईले जनाए । उनले भने, ‘२०७७ सालदेखि देशभर नयाँ पाठ्यक्रम पनि लागू गर्ने र विद्यालयहरूमा केही पाठ र एकाइहरूको नमुना परीक्षण पनि गर्दै जाने तयारी छ ।’ त्यसका लागि पाठ्यक्रम तयार भएका विषयको किताब लेखिँदै छ ।

विद्यालय शिक्षा पूरा गर्दा विद्यार्थीलाई कुनै न कुनै उपयोगी सीप सिकाउने उद्देश्यले जीवनोपयोगी शिक्षा लागू गर्न लागिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । पाठ्यक्रमको मस्यौदामा कक्षा ९ देखि नै जीवनोपयोगी शिक्षा अनिवार्य गर्दै कक्षा ११ र १२ मा ७ विषय राखिएको थियो ।

अहिले विद्यार्थीले ५ विषय मात्र अध्ययन गर्दै आएका छन् । ७ विषय पठनपाठनको प्रावधानको विरोध हुन थालेपछि कक्षा ११ बाट जीवनोपयोगी शिक्षा हटाएर ६ विषय मात्र कायम गरिएको हो । सूचना अधिकारी भट्टराईले पनि विद्यार्थीलाई सीप सिकाउने गरी पाठ्यक्रम निर्माण गरिने बताए ।

शिक्षाविद् विनय कुसियतले भने जीवनोपयोगी शिक्षा अनिवार्य गर्न लागिएकामा असन्तुष्टि जनाए । ‘सबै विषय कामकाजमा उपयोगी हुनुपर्छ, जीवनोपयोगी विषय राखेर मात्र विद्यार्थीले सीप सिक्छन् भन्ने छैन,’ उनले भने ।

छुट्टै विषयका रूपमा राख्दा कार्यान्वयनमा चुनौती हुने कुसियतको तर्क छ । ‘विद्यार्थीलाई अन्य विषय पठनपाठन गराउँदा पनि सीपसँग जोड्न सकिन्छ,’ उनले कान्तिपुरसँग भने, ‘तयारीबिनै नयाँ विषय लागू गर्दा समस्या आउन सक्छ ।’

जीवनोपयोगी शिक्षा प्रयोगात्मक परीक्षामा नम्बर दिने विषय मात्र हुन सक्ने आशंका कुसियतले व्यक्त गरे । विद्यालय तहमै अनिवार्य र ऐच्छिक विषयको संख्या बराबर राखिकामा समेत उनले आपत्ति जनाए ।

‘विद्यालय तहमै विद्यार्थीलाई धेरै विषय छान्न दिएर विशिष्टीकृत गर्दा विद्यालय शिक्षाको मर्म नै मर्न सक्छ,’ उनले भने ।

कक्षा १–१२ लाई विद्यालय तहमा समाहित गरेपछि सरकारले राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको थियो । चालु शैक्षिक सत्रदेखि कक्षा १–३ मा एकीकृत पाठ्यक्रम १ सय ३ विद्यालयमा नमुना परीक्षण भइरहेको छ । २०७७ वैशाखदेखि कक्षा १ मा नयाँ पाठ्यक्रम पूर्ण रूपमा कार्यान्वयन गरिने भट्टराईले बताए ।

कक्षा १ को पुस्तक छपाइ सकिइसकेको छ । कक्षा ४ देखि ८ र कक्षा ९–१० को पाठ्यक्रम पनि स्वीकृत प्रारूपअनुसार परिमार्जन भइरहेको केन्द्रले जनाएको छ ।

कक्षा ९ देखि नै विद्यार्थीले प्राकृतिक चिकित्सा, योग र आयुर्वेद विषय पढ्न पाउने प्रबन्ध गरिएको छ । यी विषयको पनि पाठ्यक्रम स्वीकृत भइसकेको छ । देशका बारेमा अधिकतम जानकारी दिने उद्देश्यले नयाँ पाठ्यक्रममा सामाजिक अध्ययनलाई पनि जोड दिइएको छ ।

Comments

comments