चितवन मेडिकल कलेजका विद्यार्थीद्धारा आन्दोलनलाई चर्काउने घोषणा

चितवन । अतिरिक्त शुल्क लिएको भन्दै आन्दोलनरत चितवन मेडिकल कलेजका विद्यार्थीहरुले थप चर्काउने घोषणा गरेका छन् ।

भरतपुरमा मंगलबार पत्रकार सम्मेलन गर्दै विद्यार्थीहरुले चिकित्सा शिक्षा अध्ययनमा सरकारले तोकिएको भन्दा बढी शूल्क तत्काल फिर्ता वा समायोजन हुनुपर्ने माग दोहोर्‍याए । मागको सुनुवाइ नभएसम्म आन्दोलनलाई निरन्तरता दिने विद्यार्थीहरुको भनाइ छ ।

बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले तीन सातादेखि चितवन मेडिकल कलेजमा आन्दोलन गर्दै आइरहेका छन् ।

आन्दोलनका कारण कलेज प्रशासन बन्द छ । चिकित्सा शिक्षा संर्घष समितिका संयोजक प्रकाश चन्दले विद्यार्थीहरुको उचित शुल्क र योग्यताका आधारमा भर्ना हुने अधिकार अझै स्थापित नभएको बताए । अहिले चलिरहेको आन्दोलनबाट त्यसलाई स्थापित गराएर छाड्ने चन्दले दाबी गरे ।

देशभरका निजी मेडिकल कलेजहरुले सरकारले तोकिएको भन्दा बढी शुल्क लिएको भए पनि आन्दोलन भने चितवन मेडिकल कलेजमा मात्रै हुँदै आएको छ ।

अहिलेको आन्दोलन कुनै एक मेडिकल कलेजका विरुद्धमा मात्रै नभएको नेता चन्दको भनाइ छ । बढी शुल्क लिने अन्य मेडिकल कलेजमा अध्ययरत विद्यार्थीहरुलाई न्यायपूर्ण आन्दोलनमा उत्रिन चन्दले विज्ञप्ती मार्फत अपिल समेत गरेका छन् । अनलाइन खबरबाट

Comments

comments