विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी नियुक्तिमा ढिलाइ

काठमाडौँ । सरकारले प्राथमिकता नदिँदा ५ वटा विश्वविद्यालयमा उपकुलपतिसहितका पदाधिकारी नियुक्तिमा ढिलाइ भइरहेको छ । नाम सिफारिस समिति (सर्च कमिटी) ले सम्भावित पदाधिकारीको नामावलीसमेत सिफारिस गर्न सकेको छैन ।

त्रिवि उपकुलपति नाम सिफारिस समितिको दोस्रोपटक थपिएको म्याद भदौ २० मा सकिएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठित समितिको एक महिनामा एउटा मात्रै बैठक बसेको छ ।

म्याद सकिने दिन बैठक डाकेर समितिले पुनः म्याद थपका लागि प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीलाई आग्रह गरेको छ ।

साउन १८ गते त्रिवि उपकुलपतिको नाम सिफारिस गर्न समिति बनेको थियो । निवर्तमान उपकुलपति तीर्थराज खनियाँको म्याद (भदौ ६ गते) सकिँदासम्म समितिले नाम सिफारिस गर्न सकेन ।

त्यसपछि कुलपति ओलीले भदौ २० सम्मका लागि म्याद थपेका थिए ।
त्रिवि ऐनमा उपकुलपति नियुक्तिका लागि कुलपतिले सहकुलपति तथा शिक्षामन्त्रीको संयोजकत्वमा ३ सदस्यीय सिफारिस समिति गठन गर्ने प्रावधान छ ।

सोहीअनुसार गठित समितिले एक महिनाभन्दा बढी समयमा पनि नाम सिफारिस गर्न नसकेकाले पदाधिकारी नियुक्तिमा ढिलाइ भएको हो ।

शिक्षा मन्त्रालयका उपसचिव पुष्पराज ढकालले कुलपति अस्वस्थ रहेका कारण नियुक्ति प्रक्रिया टुंगो लाग्न नसकेको दाबी गरे । ‘नियुक्ति कुन ढाँचाबाट गर्ने भनेर प्रारम्भिक छलफल चलिरहेको छ,’ उनले भने । प्रधानमन्त्रीको परामर्शअनुकूल पदाधिकारीको नाम सिफारिस गर्न कुरेर बसेको समिति स्रोतले जनाएको छ ।

त्रिवि सेवा आयोगमा पनि ओलीकै निर्देशनअनुसार अध्यक्षमा पूर्वएमालेनिकट लालुप्रसाद पौडेल र सदस्यमा पूर्वमाओवादी पक्षधर हेमराज ढकालले नियुक्ति पाएका थिए । सिफारिस समितिले सोहीनुकूल नाम सिफारिस गरेको थियो ।

देखावटी प्रक्रिया पूरा गर्न मात्र शिक्षामन्त्रीको अध्यक्षतामा सर्च कमिटी बनेको हो,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्रीको निर्देशनमा मात्रै कमिटीले नाम सिफारिस गर्ने हो ।’

संस्कृत, पूर्वाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयमा पनि उपकुलपतिलगायत पदाधिकारीको नाम सिफारिस गर्न भदौ ५ मै सहकुलपति पोखरेलको अध्यक्षतामा छुट्टाछुट्टै सिफारिस समिति बनाइएको थियो । तर २० दिनसम्म नियुक्ति प्रक्रिया सुरु हुन सकेको छैन । यी विश्वविद्यालयका पदाधिकारीको म्याद सकिएपछि रेक्टर र डिनहरूलाई कार्यवाहक जिम्मेवारी दिइएको छ ।

‘सबै विश्वविद्यालयमा एउटै मापदण्डका आधारमा पदाधिकारी नियुक्ति गर्न कस्तो कार्यविधि अपनाउने सरसल्लाह भइरहेको छ’, उपसचिव ढकालले भने ।

त्रिविबाहेक अन्य विश्वविद्यालयको सिफारिस समितिको म्याद तोकिएको छैन । मन्त्रालयका एक उच्च अधिकारीले भने सत्तारुढ नेकपाभित्र पदाधिकारी नियुक्तिका लागि भागबन्डा नमिलेकाले अलमल गरिएको हुनसक्ने जनाए ।

त्रिवि सेवा आयोगमा पूर्वएमाले कोटामा अध्यक्ष नियुक्त भएकाले पूर्वमाओवादीले उपकुलपति पाउनुपर्ने दाबी गर्दै आएको छ । कुलपति र पूर्वएमालेका नेताहरू भने अन्य विश्वविद्यालय पूर्वमाओवादी पक्षधरलाई दिएर भए पनि त्रिवि उपकुलपतिचाहिँ छाड्न नहुने अडानमा छन् ।

आन्तरिक किचलो टुंगो नलाग्दा त्रिविमा पूर्वमाओवादीनिकट रेक्टर सुधा त्रिपाठीलाई तीनमहिने उपकुलपतिको जिम्मेवारी दिइएको छ ।

त्रिवि, पूर्वाञ्चल, संस्कृत र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको ४ वर्षे कार्यकाल भदौ पहिलो साता पूरा भएपछि नयाँ नियुक्ति प्रक्रिया सुरु भएको हो । उच्चस्तरीय शिक्षा आयोगले खुला प्रतिस्पर्धाबाट उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्न सुझाव दिएको थियो ।

सरकारले भने पुरानै प्रक्रियाअनुसार नियुक्ति थालनी गरेपछि चौतर्फी विरोध भइरहेको छ । शिक्षाविद्, विद्यार्थी संघरसंगठनले विश्वविद्यालयमा राजनीतिक भागबन्डा अन्त्य गर्न दबाब दिइरहेका छन् ।

त्रिविको सिफारिस समितिमा व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा र मेची क्याम्पस झापाका प्रमुख कमलप्रसाद गुरागाईं सदस्य छन् ।

पूर्वाञ्चल र संस्कृत विश्वविद्यालयका उपकुलपति छनोटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा योजना आयोगकी सदस्य उषा झा र शिक्षा सचिव महेश दाहाल सदस्य रहेको सिफारिस समिति बनेको छ ।

कृषि विश्वविद्यालयका उपकुलपति छनोटका लागि मन्त्री पोखरेलको संयोजकत्वमा विश्वविद्यालय अनुदानका अध्यक्ष भीमप्रसाद सुवेदी र शिक्षा सचिव दाहाल सदस्य रहेको समिति गठन
भएको छ ।

सरकारले आफूअनुकूल व्यक्ति राखेर समिति बनाएकाले नियुक्ति पनि सोहीबमोजिम हुन सक्ने शिक्षाविद्को आंशका छ । दसैंअघि पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त हुँदै छन् ।

त्रिविसहित ७ विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी बन्न नेकपानिकट प्राध्यापकको उच्च राजनीतिक तहमा दौडधुप चलिरहेको छ ।

ओली र अध्यक्ष पुष्पकमल दाहालसम्म उनीहरूले लबिइङ गरिरहेका छन् । प्रतिपक्ष कांग्रेसनिकट प्राध्यापकले पनि सहमति र सहकार्यका आधारमा विश्वविद्यालय चलाउनुपर्ने तर्क गर्दै भागबन्डा खोजिरहेका छन् । आजको कान्तिपुर दैनिकबाट

Comments

comments