सरकारी तलब खाएर निजी शिक्षण संस्थामा पढाउँदै त्रिवीका प्राध्यापक

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरुले अनुमति नै नलिएर निजी शिक्षण संस्थामा पढाउने गरेको पाइएको छ । अधिकांश प्राध्यापक, उपप्रध्यापक, सहप्रध्यापक र शिक्षण सहायकले स्वीकृति नै नलिई निजी शिक्षण संस्थामा अध्यापन गराउँदै आएका छन् ।

त्रिविका अनुसार पछिल्लो दुई वर्षको अवधिमा २५ जना कर्मचारीलाई सेवाबाट हटाइएको छ ।

९० दिनभन्दा बढी समय अनुपस्थित भएको भन्दै विशेष सजायअन्तर्गत उनीहरूलाई सेवाबाट हटाइएको हो । यसरी हटाइएकामा निजी शिक्षण संस्थामा अध्यापन गराउनेहरू पनि रहेको त्रिवि स्रोतले जानकारी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० मा बिनाजानकारी लगातार ९० दिनसम्म क्याम्पस वा कार्यालयमा उपस्थित नभए सेवाबाट हटाउने उल्लेख छ ।

अनुगमन निर्देशनालयसम्बन्धी विनियम २०७३ मा त्रिविबाहेक अन्य संस्थामा आंशिक रूपमा काम गर्न चाहने शिक्षक तथा कर्मचारीलाई त्रिविको कामकारबाहीमा असर नपर्ने गरी स्वीकृत दिन सक्ने उल्लेख छ ।

त्रिविको नियमानुसार हालै २० जना कर्मचारीलाई काम गर्न सचेत गराई नसियत दिएको छ ।

त्रिवि अनुगमन निर्देशनालयले अध्यापन गराउँदै आएको क्याम्पस र अध्यापन गराउन चाहेको क्याम्पसबीचको सहमतिपत्रका आधारमा स्वीकृति दिँदै आएको छ । त्रिवि स्रोतका अनुसार १ हजार २ सय बढीले अध्यापनका लागि पूर्वस्वीकृति लिएका छन् ।

शिक्षाविद् डा। विद्यानाथ कोइराला त्रिविले किनेको समयमा अन्यत्र पढाउन जानु सम्बन्धित व्यक्तिको बदमासी रहेको बताउँछन् । उनी त्रिविको प्राध्यापनमा असर पार्ने गरी अन्यत्र पढाउन जान नपाइने र स्वीकृत लिने विषयलाई पनि कडाइ गरिनुपर्ने बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डिल्लीराम उप्रेतीले पूर्वस्वीकृतिबिना अन्यत्र पढाउन नपाइने बताए ।

त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा।डा। रिदीश पोख्रेलका अनुसार केन्द्रीय क्याम्पससहित ६१ आंगिक क्याम्पसमा अहिले ३ लाख ९२ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् । यस्तै, १६ हजार ६१ जना कर्मचारी कार्यरत छन् ।

Comments

comments