ज्यानको जोखिम मोलेर शिक्षा

टीकापुर । कैलालीको काँडा नदीको पश्चिमतर्फ बन्जरिया जंगलसँगै जोडिएको एउटा ठूलो बस्ती छ। जोशीपुर गाउँपालिका–३ मा पर्ने सो बस्तीमा रहेको शिविरमा लगभग पाँच सय घरधुरीमा मुक्त कमैया बस्छन्।

सोही वडामा पर्ने अन्य दुई गाउँ बन्जरिया र भगैयास्थित शिविरमा पनि मुक्त कमैयाका करिब तीन सय घरधुरी छन्। बाक्लो बस्ती भए पनि ती ठाउँमा माध्यमिक शिक्षाका लागि भरपर्दो व्यवस्था छैन। शिविरमा कक्षा ५ सम्मको मुक्त कमैया प्राथमिक विद्यालय छ भने नजिकैको गाउँमा कक्षा ८ सम्मको जनजागृति आधारभूत विद्यालय छ।

त्यहाँका करिब पाँच सय बालबालिका माथिल्लो तहको शिक्षाका लागि काँडा नदी तरेर जोशीपुर, बौनियाँ र मुद्दीस्थित विद्यालयमा जानुपर्ने बाध्यता छ। वर्षायाममा यो नदी तरेर बालबालिका विद्यालय जानु निकै कष्टकर छ। काँडा नदीमा एउटा मात्रै डुंगा छ।

त्यसमा एकपटकमा नौजना मात्रै चढ्न मिल्छ। विद्यार्थीलाई नदीवारपार गराउन त्यो डुंगालाई झन्डै चार घण्टा समय लाग्छ। विद्यार्थी लामो पर्खाइपछि नदी पार गर्छन् र त्यहाँबाट पैदलयात्रा गरेर उनीहरू विद्यालय पुग्छन्। ‘

माथिल्लो कक्षा पढ्न योभन्दा अर्को विकल्प छैन,’ स्थानीय धर्मेन्द्र बिष्टले भने, ‘यो वर्षौंदेखि विद्यार्थीले भोग्दै आएको नियति हो।’

विद्यार्थीका लागि डुंगाको यात्रा कष्टकर मात्रै होइन, जोखिमपूर्ण पनि छ। स्थानीयका अनुसार कैयौंपटक विद्यार्थी चढेको डुंगा पल्टिएको पनि छ। त्यस्तो घटनामा केहीले ज्यानसमेत गुमाइसकेका छन्।

त्यस्ता घटनाले विद्यार्थीहरू डुंगा चढ्न डराउने गरेका छन। उनीहरूलाई पढाइको भन्दा पनि डुंगा कसरी तर्ने भन्नेबारे बढी चिन्ता हुन्छ।

जोशीपुरस्थित मोहन्याल माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत प्रकाश चौधरी डुंगमा नदी तर्ने क्रममा सधैं डर लाग्ने गरेको बताउँछन्। ‘मनमा कतिबेला के हुने हो भन्ने डर भइरहन्छ,’ उनले भने, ‘म मात्रै होइन। हामी सबै डर पालेर उच्च शिक्षाको यात्रामा छौं।’

यस्तो जोखिमपूर्ण यात्रा गरेर उच्च शिक्षा हासिल गर्न डराउनेहरू बीचैमा पढाइ छाड्छन।

कतिपयले त आफ्नो शैक्षिक यात्रा गाउँको विद्यालयभन्दा अघि बढाउनै सक्दैनन्। टाढाको विद्यालयमा जोखिमपूर्ण यात्रा गरेर पढ्न जानुपर्ने बाध्यता भएपछि अभिभावकसमेत बालबालिकालाई पढ्न कर गर्दैनन्।

बन्जरिया गाउँस्थित जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक कालीराम चौधरीले कैयौं विद्यार्थी बीचैमा पढाइ छाड्न बाध्य भएको बताए।

उनले अभिभावकले समेत चासो नदिएपछि विद्यार्थी पढ्नेतर्फ आकर्षित नहुने गरेको बताए। ‘अभिभावकलाई नै आफ्ना छोराछोरीले जोखिम मोलेर भए पनि पढ्नुपर्छ भन्ने छैन,’ उनले भने, ‘यति भएपछि विद्यार्थी बीचैमा पढाइ छाड्छन्।’

स्थानीय बासिन्दाले गाउँमै उच्च शिक्षाको बन्दोबस्त भए बालबालिकाले बीचमै पढाइ छाड्नुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे। उनीहरूले गाउँमा रहेको एउटा विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गर्न सके समस्या समाधान हुने बताए।

विद्यार्थी मात्र होइन, वर्षायाममा त्यहाँका स्थानीय बासिन्दासमेत सानो डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

उनीहरूलाई दैनिक उपभोग्य सामग्री खरिदका साथै अन्य कामकाजका लागि समेत काँडा नदीको पूर्वतर्फको जोशीपुर बजार आउनैपर्छ।

स्थानीय रामसेवक चौधरीले वर्षौदेखिको बाध्यता भएको बताए। ‘हामी वर्षौंदेखि यही डुंगाको सहारामा नदी वारपार गर्छौ’ उनले भने, ‘हाम्रो सधैंको नियति समाप्त हुने कुनै छाँटकाँट छैन।’

सरकारले ढिलै भए पनि त्यहाँका बासिन्दाको नियति बदल्ने प्रयास गरिरहेको छ। काँडा नदीमा पक्की पुल निर्माणको काम सुरु भएको छ। नदीमा पक्की पुल निर्माणको काम सुरु भएपछि स्थानीय बासिन्दा हौसिएका छन्।

उनीहरू आफ्ना बालबालिकाले समेत सहज ढंगले उच्च शिक्षा हासिल गर्न पाउने भन्दै खुसी भएका छन्।

वडाध्यक्ष किशोर कठरियाले पुल निर्माणको काम भइरहेको जानकारी दिए। ‘पुल निर्माण भइरहेको छ,’ उनले भने, ‘सायद अर्को वर्षामा डुंगाको सहायताले नदी तर्नुपर्दैन।’ नागरिक न्युजबाट

Comments

comments