बीउ उत्पादनमा सक्रिय बन्दै कृषक

सन्धिखर्क,१ असार । अर्घाखाँचीका विभिन्न ठाउँमा बीउ उत्पादनमा कृषक सक्रिय भएका छन् । जिल्ला मकै र गहुँको बीउ उत्पादनमा आत्मनिर्भर भइसकेको छ । जिल्लामा उत्पादित बीउ अन्यत्रसमेत बिक्री हुन थालेको छ । पाणिनी गाउँपालिका–७ अड्गुरीमा सिमीको बीउ उत्पादन भएको छ । क्रियाशील गुणस्तरीय सिमी बाली बीउ उत्पादन कृषक समूहका २५ जना सहभागी कृषकले सिमीको बीउ उत्पादन गरेका हुन् ।

किसानका लागि उन्नत बीउविजन कार्यक्रमको अनुदानमा यहाँका कृषक बीउ उत्पादनमा सक्रिय भएका हुन । उनीहरूले १ रोपनीमा करिब १ क्विन्टल बीउ उत्पादन गर्ने बताए । कालिका एकीकृत खाद्यान्न बाली कृषक समूहका अध्यक्ष कृष्ण भुसालले भने, “परीक्षणकालमा बीउ उत्पादन गर्न प्रक्रिया सिक्यौं, आगामी दिनमा पनि उत्पादन गर्छौं ।” ४ महिनामै बीउ उत्पादन हुने भएकाले राम्रो आम्दानीसँगै आत्मनिर्भर बन्न सहज हुने अध्यक्ष भुसालको भनाइ छ । परम्परागत कृषि खेतीलाई अन्त्य गर्दै आधुनिक तरिकाबाट बीउ रोप्न सिकेको कृषक लक्ष्मण न्यौपानेले बताए ।

वडाअध्यक्ष गुनाखर अधिकारीले कार्यक्रमलाई वडा तथा पालिकाबाट नीति तथा कार्यक्रममा समेट्ने बताए । “कृषकले अगाडि सारेका योजनालाई प्राथमिकता दिन्छौँ, जनता आत्ममनिर्भर बन्ने माध्यमनै कृषि क्रान्ति हो, कृषिलाई प्राथमितामा राखेका छौं,” उनले भने ।

केयुविकेका जिल्ला संयोजक हिराबहादुर सेनले अर्घाखाँची जिल्ला बीउ उत्पादनमा आत्मनिर्भर भएको बताए । अर्घाखाँचीमा उत्पादित बीउ गुल्मी, पाल्पालगायतका जिल्लामा बिक्रीका लागि पठाउन थालिएको उनले जानकारी दिए । जिल्लामा बोयर बोकाको हवको रूपमा डिर्भना विकसित भएको, दूध उत्पादन र बीउ उत्पादनमा केयुविकेले काम गरेको उनको भनाइ छ । उत्पादित बीउ अन्य जिल्लाको भन्दा गुणस्तर देखिएको सेनको भनाइ रहेको छ । ३-४ महिनामा सिमीको बीउ उत्पादन हुने र ४ महिनामा बिक्री गरेर पैसा ल्याउन सकिने किसानहरू बताउँछन् ।

अड्गुरीमा साप्ताहिक रूपमा हाटबजार पनि सञ्चालन भएको छ । नाडेफको आर्थिक सहयोग र लुम्बिनी सामाजिक विकास केन्द्रको सहजीकरणमा सञ्चालित हाटबजारमा स्थानीय कृषकले उत्पादन गरेका खाद्यान्न, तरकारीको बिक्री वितरण हुन्छ ।

यहाँका कृषक तरकारी, दूध उत्पादनबाट आत्मनिर्भर बन्न थालेका छन् । एक घरमा कम्तिमा १ देखि बढीमा ८ वटा टनेल बनाई गोलभेंडालगायतका तरकारी उत्पादन गर्ने गर्छन् । कृषकलाई प्रेरित गर्न स्थानीय सरकारले साथ दिनुपर्ने कृषकहरूको भनाइ छ । पानी नभएको ठाउँमा व्यावसायिक तरकारी खेतीमा धेरैजसो कृषक प्रेरित भएर लागेका छन् । विदेशिनुको सट्टा गाउँमै केही गर्नुपर्छ भनेर आफूसँगै अन्य कृषकलाई पनि प्रेरित गरेको कृषक किसान कृष्ण भुसालको भनाइ छ ।

Comments

comments