वर्षाले झन्डै ३ करोड मूल्य बराबरको इँटा नष्ट

मलंगवा,२३ बैशाख ।  वर्षाले सर्लाहीमा झन्डै ३ करोड मूल्य बराबरको इँटा नष्ट भएको छ । पकाउन तयारी अवस्थामा राखेको काँचो इँटा पानीले नष्ट गरेपछि इँटा व्यवसायी चिन्तित भएका छन् । गत चैतमा आएको पानीले सर्लाहीमा १५ करोड बढीको इँटामा क्षति पुगेको थियो ।

यसपटकको पानीले पनि बचेखुचेको सबै इँटा नष्ट भएको इँटा व्यवसायी संघ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताए । जिल्लामा झन्डै ८० को संख्यामा इँटा भट्टा सञ्चालनमा रहेका छन् । जिल्लाको गोडैता, कौडेना, चक्रघट्टा, बसबरिया, चन्द्रनगर, ईश्वरपुर, हरिवनलगायतका स्थानमा इँटा भट्टा सञ्चालनमा रहेका छन् । सबै इँटा भट्टामा १ लाखदेखि ५ लाखसम्मको क्षति भएको छ ।

चैत्र महिनामा आएको पानीले क्षति पुगेकोमा पुनः यही शुक्रबारको पानीले थप इँटा नष्ट भएपछि इँ्टा भट्टा सञ्चालक थप मारमा परेको संघका अध्यक्ष चौधरीको भनाइ छ । पहिलेकै पानीले क्षति पुगेको थियो । कामदारको ज्याला कसरी तिर्ने भन्ने भइरहेको बेला शुक्रबारको पानीले थप क्षति गरेपछि मर्माहित भएको  उनले बताए ।

Comments

comments