कापीमात्रै बोकेर विद्यालय जान बाध्य विद्यार्थी

वीरगन्ज,१० बैशाख । नयाँ शैक्षिक सत्र सुरु भएसँगै आइतबारदेखि विद्यालय खुलेका छन् । तर, संस्थागत विद्यालयका विद्यार्थी भने खाली झोला बोकेर विद्यालय जान बाध्य भएका छन् ।

संस्थागत विद्यालयमा पढाइने पाठ्यपुस्तकको विषयसूची उपलब्ध नगराएको बहाना गरेर पुस्तक व्यवसायीले बजारमा पुस्तक बिक्री वितरण नगरेपछि किताब नपाएर विद्यार्थीहरू भने कापीमात्रै बोकेर विद्यालय जान बाध्य भएका हुन् । वीरगन्ज महानगरपालिकाभित्र सञ्चालनमा रहेका अधिकांश संस्थागत विद्यालयले पाठ्यपुस्तकको सूची सार्वजनिक नगरेको भन्दै पुस्तक व्यवसायीले पुस्तक बिक्री गर्न मानेका छैनन् । बजारमा किताब नपाएपछि विद्यार्थीहरूलाई खाली झोला बोकाएर विद्यालय पठाउन बाध्य भएका अभिभावक भने छोराछोरीको भविष्यको चिन्ताले सताउने गरेको बताएका छन् ।

विद्यालय खुलेपछि विद्यालयले कापीमात्रै लिएर भए पनि आउन भनेपछि किताब नपाउँदा विद्यार्थीहरू भने खाली झोला अथवा कापीमात्रै लिएर भए पनि विद्यालयमा हाजिर गर्न पुग्नु परेको गुनासो गरेका छन् । संस्थागत विद्यालय र पुस्तक व्यवसायीको आपसी द्वन्द्वले अभिभावक र विद्यार्थीलाई भने तनाव सिर्जना गरेको छ । नयाँ शैक्षिक सत्र सुरु भएसँगै उपल्लो कक्षा उत्तीर्ण भएका विद्यार्थीलाई हर्षोल्लासका साथ विद्यालय पठाउने चाहना हुँदाहुदै पनि पाठ्यपुस्तक नपाएपछि अभिभावक भने खिन्न मनले छोराछोरीलाई विद्यालय पठाउनु परेको दुःखेसो गरेका छन् ।

विद्यार्थीको भविष्यमाथि नै खेलवाड गर्ने विद्यालय र पुस्तक व्यवसायीलाई नियमनकारी निकाय शिक्षा विकास समन्वय इकाई पर्सा र स्थानीय सरकारको रूपमा रहेको वीरगन्ज महानगरपालिकाको शिक्षा विकास समन्वय शाखाले भने खासै चासो देखाएका छैनन् । उनीहरूले आपूmहरूसँग लिखित रूपमा कसैले उजुरी नगरेको भन्दै समस्या समाधानमा चासो नदेखाएका हुन् । नागरिकलाई पर्न गएको असुविधा तथा समस्या समाधानका लागि नियमनकारी निकाय आफैले अगाडि सरेर पहल गर्नुपर्ने भए पनि उजुरी नपरेसम्म समस्या नै होइन भन्ठान्ने सरकारी परिपाटी कायम रहँदासम्म नागरिकले भने सधै सास्ती भोग्नुपर्ने अवस्था आएको छ । केही पुस्तक पसलले बिक्री सुरु गरे पनि उनीहरूलाई व्यवसायी संगठनका पदाधिकारीले नै रोक लगाएको छ ।

पुस्तकमा यति धेरै चलखेल भइरहँदा समेत शिक्षासँग सरोकार राख्ने विभिन्न राजनीतिक दलका विद्यार्थी संगठन तथा अभिभावक संघले पनि तदारुकता देखाएका छैनन् । विद्यार्थी संगठन आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि विद्यार्थीलाई सडकमा ल्याउन तयार हुन्छन् । तर, तिनै साना विद्यार्थी र अभिभावकलाई पर्ने समस्यामा भने मौन बस्ने गरेका छन् । जिल्लाका अभिभावक संघले पनि समस्या समाधानका लागि सक्रियता देखाएका छैनन् ।

Comments

comments