हात्ती आतंकले त्रसित स्थानीय बासिन्दा

 झापा,७ बैशाख । बाहुनडाँगीका शुम्भु ढुंगेलका परिवारले वर्षौं भयो सँगै खाना नखाएको। परिवारका सदस्य सुत्दा पनि पालो गर्छन्। एकजना कम्तीमा ६ घन्टा हात्तीको रुँगाइमा खटिन्छन्। ‘एउटाले बाहिर बसेर हात्ती हेरे अर्कोले खाना खानुपर्छ,’ ढुंगेलले भने, ‘राति पनि एक जना जागै बसेर हात्ती आउँछ कि भनेर हेर्ने गर्छौं।’

हात्तीबाट ज्यान जोगाउनकै लागि शम्भुका परिवार पालो गर्दै खाना खान्छन्। सुत्ने समय पनि त्यसरी मिलाएका छन्। उनका परिवारका सदस्यको समय पालो गरेर हात्ती रुँगाइमै बितिरहेको छ। शम्भु दिनमा आफू ६ घन्टा हात्ती रुँगेर बिताउने गरेको बताउँछन्। बाँकी समय परिवारका अन्य सदस्य हात्ती रुँगाइमा खटिन्छन्। तीन वर्षअघि घाँस काट्न गएका उनका ६७ वर्षीय बुवा मनहरिलाई जंगली हात्तीले किचेर मारेको थियो।

शम्भु मात्र होइन, झापाका विभिन्न जंगल वरपरका स्थानीय बासिन्दा त्रसित छन्। हात्तीले दुःख दिने झापाको मुख्य स्थानकै रुपमा परिचित बाहुनडाँगी, हल्दिबारी, बिर्तामोडलगायतका क्षेत्रमा कतिबेला जंगली हात्ती गाउँ पस्छ टुँगो हुँदैन।

‘कहिले बिहानै घरबाहिर निस्कँदा आँगनमै हात्ती हुन्छ। बालबच्चाको विद्यालय जाने लुगा सुकाएको ठाउँमै खाइदिन्छ,’ बाहुनडाँगीकी निशा प्रधानले भनिन्, ‘लगाएको अन्न राम्ररी एक भित्र्याउन पाइँदैन। घर भत्काएर र मानिसमाथि आक्रमण गरेर उस्तै क्षति पुर्‍याइरहेको हुन्छ।’ झापाकै जंगलमा र नजिकै भारतीय सिमानाको जंगलमा बस्ने हात्तीले स्थानीयलाई दुःख दिने गरेको हो।

‘रैथाने हात्तीको संख्या झापामा बढेको छ’, डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे भन्छन्, ‘सजग हुन सकिएन भने मानवीय र भौतिक क्षति बढ्ने निश्चित छ।’ अघिल्ला महिनामा झापामा ९ वटा रैथाने हात्ती रहेको वन कार्यालयको तथ्यांक थियो। अहिले यो संख्या बढेर १९ पुगेको वन प्रमुख घिमिरेले बताए।

जलथल जंगलमा १९ वटा हात्ती बस्दै आएको भेटिएपछि वन कार्यालयले आवश्यक सतर्कता अपनाउन स्थानीयलाई अपिल पनि गरेको छ। वन प्रमुख घिमिरेले भारतको पश्चिम बंगालबाट हात्ती आउने क्रम रोकिए पनि कोसी टप्पु वन्यजन्तु आरक्षबाट हात्ती आइरहेको हुनसक्ने बताए। बाहुनडाँगीको १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार गरिएपछि पश्चिम बंगालबाट हात्ती नेपाल प्रवेश गर्ने क्रम रोकिएको छ। १८ किलोमिटर सोलार फेन्सिङ जडान गर्न एक करोड ३० लाख रुपैयाँ खर्च भएको थियो। २०७१ साल २३ गते सुरु भएको परियोजना २०७३ साल साउन २२ गते निर्माण सम्पन्न भएको थियो।

पछिल्लो तीन वर्षयता झापाको चारआली र जलथल जंगलमा हात्ती बस्दै आएका छन्। अघिल्लो वर्ष चैतमा चारआली जंगलभित्र घाँसदाउरा गर्न गएका दुईजनाले हात्ती आक्रमणमा ज्यान गुमाएका थिए। यस वर्ष फागुन २९ गते झापाको जामुनखाडी वनमा पनि हात्ती आक्रमणबाट कनकाई–२ का ओमनाथ खनालको मृत्यु भएको छ। अहिले हात्तीको ठूलो बथान जलथल जंगल वरपर घुमिरहेको वन प्रमुख घिमिरेको भनाइ छ।

सीमावर्ती भारतीय जंगलबाट नेपाल प्रवेश गर्ने हात्ती बस्तीनजिकै वनमा बस्न थालेपछि स्थानीयको ज्यान थप जोखिममा परेको उनले बताए। वन क्षेत्र घना हुँदै गएपछि जंगली हात्तीको वासस्थान उत्तरी क्षेत्र थियो। अहिले यो समस्या दक्षिणी क्षेत्रमा सरेको छ। केचना, घेराबारी, पथरिया, बाह्रदसी क्षेत्रका बासिन्दा पनि हात्तीबाट प्रभावित हुँदै आएका छन्।

स्थानीय जंगलमा हात्ती बस्न थालेपछि झापाका मध्यवर्ती क्षेत्रका बासिन्दा प्रभावित हुन थालेको वन कार्यालय झापाले जनाएको छ। ‘घाँसदाउरा र चौपाया चरनमा जानेहरु अझै बढी असुरक्षित छन्। वनक्षेत्र वरपर साँझ बिहान एक्लै हिँड्नु भनेको ज्यान जोखिममा पार्नु हो’, वन प्रमुख घिमिरेले भने।

नौ वर्षमा १० हात्ती मारिए

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार झापामा हात्ती मारिने क्रम पनि तीव्र भएको छ। मानव–हात्ती द्वन्द्व पनि उत्तिकै छ। संरक्षित वन्यजन्तु भनिए पनि झापामा बर्सेनि कम्तीमा एउटा हात्ती मारिने गरेको वन प्रमुख घिमिरेले बताए। पछिल्लो नौ वर्षमा झापामा १० वटा हात्ती मारिएका छन्। ती हात्ती उत्तरी जंगलमा मारिएका हुन्। गत वर्ष मात्रै झापाको मेचीनगरस्थित मागुरमाडीमा एउटा हात्ती मारिएको थियो। धेरै दुःख दिएपछि आक्रोशित भएर स्थानीयले हात्ती मारेको हुन सक्ने वन कार्यालयको अनुमान छ।

एक दशकमा ३६ जनाको मृत्यु

झापामा पछिल्लो १० वर्षमा हात्तीको आक्रमणमा ३६ जनाले ज्यान गुमाएका छन्। वन्यजन्तुबाट हुने क्षतिका विषयमा निर्देशिका जारी भएपछि मात्रै वन कार्यालयले यसको व्यवस्थित तथ्यांक राख्न थालेको हो। बर्सेनि हात्ती आक्रमणमा एकदेखि ८ जनासम्मको मृत्यु भएको वन कार्यालयको तथ्यांकमा उल्लेख छ।

पाँच वर्षअघि झापाको पृथ्वीनगरमा एकै दिन हात्ती आक्रमणमा तीन जनाको मृत्यु भएको थियो। चालु वर्षमा एक जनाको ज्यान गएको छ। गत फागुन २९ मा झापाको कनकाई नगरपालिका–२ का ६३ वर्षीय ओमनाथ खनालको ज्यान गएको हो। उनको मृत्युपछि डिभिजन वन कार्यालयले काजकिरिया खर्चबापत चैत २ मा पीडित परिवारलाई ५० हजार रुपैयाँ वितरण गरेको छ। मृतकका परिवारले राहतबापत १० रुपैयाँ पाउँछन्।

पीडितलाई ४० लाख राहत

झापामा हात्तीबाट बालीनाली र घरमा क्षति हुने क्रम पनि बढ्दो छ। त्यसबापत सरकारले पीडितलाई राहत दिन्छ। यस वर्ष ४० लाख रुपैयाँ राहत बाँडिएको डिभिजन वन कार्यालयले जनाएको छ। पहिले क्षेत्रीय वन निर्देशनालयमार्फत राहत रकम निकासा हुने गरेको थियो। अहिले वन निर्देशनालय खारेज भएपछि कोसी टप्पु वन्यजन्तु आरक्षले पीडितलाई राहत रकम उपलब्ध गराउँछ।

उपलब्ध रकम डिभिजन वन कार्यालयमार्फत वितरण हुने गरेको वन प्रमुख घिमिरेले जानकारी दिए। वन कार्यालयले पीडितका ६ सय फाइल आरक्षमा पठाएको थियो। तीमध्ये ३ सय २६ फाइलको मात्रै राहत रकम आएको हो। बाँकी फाइल फिर्ता भएका छन्। आवश्यक कागजात नपुगेको भन्दै आरक्षले ती फाइल फिर्ता पठाएको वन प्रमुख घिमिरेले बताए। राहत रकम पीडितको बैंक खातामा हाल्ने व्यवस्था मिलाइएको छ।

Comments

comments