मकै खेतीमा रमाउँदै कृषक

नेपालगन्ज,२७ चैत्र । नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १६ जयसपुरकी हवीवन कवाडिया बर्षौंदेख तरकारी खेती गर्दै आएकी थिइन् । तरकारी बेचेको पैसाले खाने मानादेखि लगाउने नानासम्म किन्दै आएकी उनलाई पछिल्लो समय जोखिम मोलेर तरकारी खेती गरे पनि भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो हुने गरेको थियो । अन्य विकल्प नहुँदा तरकारी खेती ठीकै भए पनि लगानी र जोखिमको तुलनामा आम्दानी कम हुनथालेपछि उनले तरकारी त्यागेर दुई वर्ष अघिदेखी मकैखेती गर्न थालेकी छन् ।

थोरै लगानी, कम महेनत र छोटो समयमा बढी मुनाफा लिन सकिने भएपछि बर्षौंदेखि गर्दै आएको तरकारी छाडेर मकै खेती गर्न थालेको उनले सुनाइन । “तरकारी जस्तो चाँडै बिग्रने डर पनि हुँदैन,” उनले भनिन्, “बजारको पनि समस्या नहुने भएपछि मकैखेती गर्न सुरु गरेकी हुँ ।’ गतवर्ष एक विगाहमा एक सिजनमा दुई लाख रूपैयाँसम्म आम्दानी भएपछि निकै उत्साह जागेको उनको भनाइ छ । उनले यस वर्ष एक विगाह जग्गा भाडामा लिएर मकै खेती गरेकी छन् ।

कवाडिया जस्तै भवानीयपुरका मोहम्मद सविर राईले तरकारी खेती त्यागेर मकै खेती गरेको बताए । “तरकारी चाँडै नास हुने चिज हो,” उनले भने । मकै धेरै दिनसम्म बिग्रँदैन त्यसैले मकै खेतीमा आफू आकर्षित भएको उनको भनाइ छ । “उत्पादनसँगै आम्दानी पनि राम्रो भएपछि मकै खेतीलाई बढावा दिएको छु,” चौलिक्का बाबा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका राईले भने । सहकारीका ४७ जना सदस्य मध्य २० जनाले व्यावसायिक मकै खेती सुरु गरेको उनले बताए ।

तरकारी खेती त्यागेर मकै खेती गर्ने बाँकेमा धेरै जना कृषक छन् । त्यसमध्य बर्षौं पहिलेदेखि व्यावसायिक तरकारी खेतीमा नाम कहलिएका निरञ्जनसिंह सोडी पनि एक हुन् । महातरकारी उत्पादन सहकारी संस्था हीरमिनियाका अध्यक्षसमेत रहेका उनले बाँकेमा सबैभन्दा बढी उत्पादकत्व लिने कृषक आफू भएको दाबी गरे । भारतबाट डिकार र पाएनियर जस्ता हाईब्रिड जातका बीउलगाएका उनले गतवर्ष १२ मेट्रिक टन प्रतिहेक्टरका दरले आम्दानी लिन सफल भएको बताए ।

१५ कट्ठामा मकै खेती गरेका उनको सहकारीमा ६५ जना सदस्य छन् । ती सवैले यसवर्ष मकैखेती गरेको उनको भनाइ छ । मेहनत र लगानी कम भए पनि मुनाफा बढी भएका कारण कृषकहरू तरकारी खेती छाडेर मकैखेती गरिरहेको उनले सुनाए ।

भारतमा सरकारले हरेक कुरामा अनुदानको व्यवस्था गरेकाले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा तरकारी खेतीमा राम्रो आम्दानी भए पनि किसानहरू निरास भएको उनी बताउँछन् ।

जिल्लामा मकै उत्पादन राम्रो भएका कारण २०७३ सालदेखि सरकारले बाँकेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तगर्त मकै जोन कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १३, १४, १५, १६, २१, २२ र २३ मा गरी १ सय ६८ हेक्टर र डुडुवा गाउँपालिकाको वडा नम्वर १, २, ३ र ६ मा ५ सय ५२ हेक्टरमा कमै खेती गरिएको परियोजनाले जनाएको छ ।
परियोजना कार्यान्वयन इकाई बाँकेका अनुसार बाँकेमा ७ सय २२ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ । जसमा ३ सय २६ महिला र ९ सय ४७ पुरुष गरी १ हजार २ सय ७२ घरधुरीका कृषक विभिन्न समूह सहकारीका माध्यमबाट आवद्ध भएका छन् । जसमध्य ५७ समूह, १३ सहकारी, ३ कम्पनी, ३ वटा नीजि फर्म र १ जल उपभोक्ता समिति आवद्ध भएको परियोजना कार्यान्वयन इकाईका निमित्त प्रमुख जीवनकुमार केसीले जानकारी दिए ।
मकै जोनमा सूचीकृत भएका ती समूह सहकारीलाई परियोजनाले साना सिँचाई, कस्टम हायरिङ सेन्टर स्थापना, ई–लोडर, पोस्ट हार्वेस्ट सेन्टरलगायत विभिन्न अनुदान र अन्य कार्यक्रमका लागि यसवर्ष १ करोड ५९ लाख ९० हजार बराबरको बजेट विनियोजन गरी खर्च भइरहेको केसीले बताए ।
कार्यक्रम कार्यान्वयनमा आएपछि मकै खेती गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादकत्वमा पनि वृद्धि भएको उनले बताए । राष्ट्रिय उत्पादन ४ मे.टन प्रतिहेक्टर रहेका बेला नेपालमै सवैभन्दा बढी प्रतिहेक्टर १२ मे.टन उत्पादन बाँकेमा भएको उनले दाबी गरे ।

Comments

comments