हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौं,१८ चैत्र  । बारा र पर्सामा आइतबार राती आएको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको छ।

आइतबार साँझको हावाहुरीका कारण ६ सय १२ जना घाइते भएका थिए। घाइतेमध्ये गम्भिर अवस्थामा रहेका ७ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो।

नारायणी उपक्षेत्रिय अस्पतालका निमित्त सुपरेटेन्डेन डा अतुलेश चौरसियाका अनुसार नारायणीबाट ५, वीरगन्ज हेल्थ केयरबाट १ र सर्वोत्तम अस्पतालबाट १ गरी ७ जनालाई काठमाडौं पठाइएको हो।

घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा उपचार भइरहेको छ। ६ सय १२ जना घाइतेमध्ये ३ सय ४३ जना उपचारपछि घर फर्किएका छन्।

नारायणी उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले अहिले पनि गाउँगाउँबाट घाइतेहरु अस्पताल आउनेक्रम जारी रहेको जानकारी दिए ।

उनले भने, ‘हिजो राती उद्दारका लागि प्रहरी र स्वास्थ्यकर्मी पुग्न नसकेका स्थान बिहानै  चिकित्सकसहितको टोली गाउँमा पठाइएको छ।’

अस्पतालमा आउने घाइतेमध्ये धेरैलाई टाउकोमा चोट लागेको छ। घाइतेहरुको हात भाँचिएको, घरले च्यापेर, जस्ताले शरीरका विभिन्न अंग काटिएका अवस्थामा घाइते अस्पताल ल्याइएका छन्। सबै उमेर समुहका घाइते भएपनि धेरै संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित भएको बताइएको छ।

नारायणी उपक्षेत्रीय अस्पतालले अहिले औषधि र रगतको अभाव नभएको जनाएको छ। रातीदेखि नै रक्तदान गर्ने व्यवस्था मिलाइएकोले रगत अभाव नभएको बताइएको छ।

Comments

comments