बाख्रा पालनबाट कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य

खोटाङ ,१३ चैत्र । दिप्रुङ चुईचुम्मा गाउँपालिका वडा नम्बर–१ याम्खाका कृषक जीवन घिमिरेले उन्नत खालको बोका (बोयर) मार्फत् आफूले पालेका बाख्रामा प्रजनन् गराएर ६ वटा पाठापाठी उत्पादन गराएका छन् । सलक्क परेका हलक्क बढिरहेका पाठापाठी देख्दा उनी अहिले खुशीले गदुगद् हुँदै आगामी दिनमा धेरै बाख्रा पालेर त्यसैबाट व्यावसायिक बन्ने इच्छाका साथ अघि बढिरहेका छन् ।

याम्खाकै अर्का किसान प्रेमकुमार अधिकारी सुरुमा त गाउँमा बोयर बोका देख्दा छक्क परे । कहाँ बाख्रा पनि यति ठूलो हुन्छ होला र भन्दै छक्क परेका उनले पनि परीक्षणका लागि भन्दै आफूले पालेका बाख्रालाई बोयर बोकामार्फत् प्रजनन् गराए । अहिले बोयर बोकामार्फत् ३ वटा पाठापाठी उनकोमा उत्पादन भएका छन् । ती सलक्क परेका पाठापाठी खेलाउँदै उनी भन्छन्, “अब सबैले उन्नत खालका बाख्रा पालेर समृद्धि खोज्नुपर्छ ।”

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले उन्नत जातको बाख्रा पालनबाट कृषकलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर गत असारमा पाँच वटा उन्नत खालका बोयर बोका कृषकहरुलाई वितरण गरेको थियो । गाउँपालिकाले सिमानथली बोयर बाख्रा फर्म हेटौंडा मकवनपुरबाट प्रतिकेजी २५ सयका दरले २ लाख ५० हजार रुपैयाँमा पाँच वटा बोयर बोका ल्याएर गाउँपालिकाभित्रका ५ कृषक समूहलाई वितरण गरेको थियो ।

गाउँपालिकाले वडा नम्बर–१ याम्खाको हरियाली कृषक समूह, वडा नम्बर–३ छोरम्बुको जनजागरण कृषक समूह, वडा नम्बर–४ बतासेको हरियाली कृषक समूह, वडा नम्बर–५ सप्तेश्वर छितापोखरीको तृतिया भञ्याङ कृषक समूह र वडा नम्बर–७ टेम्माको सकृय सहभागिता कृषक समूहलाई बोयर बोका वितरण गरेको थियो ।

पाँच कृषक समूहलाई बितरण गरिएको बोयर बोकाबाट अहिले हरियाली कृषक समूह अन्तर्गतमा ३६ वटा बाख्रालाई प्रजनन् सेवा दिएको र त्यसमध्ये १६ पाठापाठी जन्मिएका छन् । यस्तै, जनजागरण कृषक समूह अन्तर्गत २७ वटा बाख्रालाई सेवा दिइएको र ९ वटा पाठापाठी जन्मिएका छन् । हरियाली कृषक समूह बतासेमा २५ वटालाई सेवा दिएकोमा ७ वटा पाठापाठी उत्पादन भएका छन् भने तृतिया भञ्याङ कृषक समूह अन्तर्गतमा २७ वटा बाख्रालाई सेवा दिइएकोमा १६ वटा पाठापाठी जन्मिएको पशु प्राविधिक रमेश निरौलाले जानकारी दिए ।

पाँच वटा कृषक समूहलाई दिएको बोकामध्ये वडा नम्बर–७ टेम्माको सकृय सहभागीता कृषक समूहलाई दिएको बोका ‘एन्टेक्स’ पटके रोगको कारणले मरेको निरौलाको भनाइ छ । एक कृषक समूहलाई एउटाका दरले दिएको बोकामार्फत् किसानले आफ्ना बाख्रालाई प्रजनन् गराउन पाइने उनको भनाइ छ ।

बोयर बोकामार्फत् अहिले गाउँमा उन्नत खालका बाख्रा पाठा उत्पादन हुन थालेपछि किसानहरु खुशी बनेका छन् । खरी जातका (थोरै मासु भएका) साना बाख्रा पाल्दै आएका किसानहरु उन्नत जातका बाख्रा पालेर त्यसैबाट समृद्धि खोज्न यतिबेला उत्सुक देखिन्छन् ।

१८ महिनाको अवधिमा झण्डै ५२ केजीसम्म हुने उन्नत जातका बोयर बाख्रा पाल्नमा उत्सुक बनेका कृषक छोटो समयमा राम्रो फाइदा लिने गरि लागिपरेको देखिन्छ । कृषकहरुले पालेका बाख्राबाट उत्पादन भएका पाठापाठी दैनिक ५० देखी ६० ग्रामको दरले बढिरहेको प्राविधिक निरौलाले जानकारी दिए ।

गाउँपालिकाको नीति तथा कार्यक्रममार्फत् नै कृषकलाई उन्नत खालका बाख्रा पाल्नका लागि बोयर बोका दिएर मासुमा आत्मानिर्भर बनाउन खोजिएको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए । उनले भने, “गाउँपालिकाभित्रका सबै कृषकलाई उन्नत खालका बाख्रा पाल्नको लागि आगामी दिनमा अभिप्रेरित गर्दै कृषकलाई खसी बाख्रा नै आम्दानीको मुख्य श्रोत बनाई दिने लक्ष्य रहेको छ ।”

उन्नत खालका खसीबाख्रा उत्पादन गर्नका लागि गाउँपालिकाको हावापानी उपयुक्त रहेको बताइएको छ । गत असारमा सुरु गरिएको उन्नत खालका बाख्रा पालन अभियान निरन्तर रहने गाउँपालिकाको भनाइ छ ।

यसै आर्थिक वर्षभित्र गाउँपालिका र किसानको ५०-५० प्रतिशत लागानीमा १० लाख बराबरको बाख्रा फर्म स्थापना गरिने अध्यक्ष राईको भनाइ छ । गाउँपालिकाभीत्र मासु खपत भएर बढी भएका खसी बाख्रा अन्य ठाँउमा निर्यात गर्नका लागिसमेत गाउँपालिकाले प्रबन्ध मिलाइदिने जनाइएको छ ।

गाउँपालिकाभित्र प्रतिकेजी पाँच सयका दरले खपत हुँदै आएको खसीको मासु समूहमार्फत् खाने गरिएको छ । बढीमा २०-२१ घरको एक समूह निर्माण गरेर प्रत्येक महिना आफ्नो पालोअनुसार खसी काटेर मासु खाने गरिएको स्थानीयको भनाइ छ ।
उन्नत खालको बाख्रा पालन कार्य भर्खर सुरु भएका कारण त्यसबाट कृषकले आम्दानी लिन थालिनसकेको गाउँपालिकाको भनाइ छ । अबका केही महिनापछि कृषकले भने अनुसारको आम्दानी लिने जनाइएको छ ।

Comments

comments