जनता र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन सांसदहरुलाई आग्रह

काठमाडौँ माघ ९। चिकित्सा शिक्षाका मागहरु अघि सारेर आमरण अनसन बसिरहनु भएका डा. गोविन्द केसीले माफियामुखी नभई जनता र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन सांसदहरुलाई आग्रह गर्नुभएको छ । विगतमा आफूसँग भएको सम्झौताबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने माग राखेर डा. केसी १६औं पटक आमरण अनशन बस्नु भएको छ ।

उहाँले संसदीय समितिले जनता र विद्यार्थीमुखी बुँदा हटाई माफियामुखी बुँदा थपेर विधेयक पारित गरेको आरोप लगाउनु भएको छ । ‘मेरो जानकारीमा आए अनुसार आज (मंगलबार) संसदमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत हुँदैछ। जुन विधेयकमा जनता र विद्यार्थीमुखी बुँदा हटाएर माफियामुखी बुँदा राखिएको छ,’ केसीले भिडियो सन्देशमार्फत भन्नु भएको छ , ‘हामीसँग सम्झौता भएअनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदा थपेर ऐन ल्याउन माननीयज्यूहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा राखेको छु र अनुरोध पनि गर्न चाहन्छु।’

स्वास्थ्यमा सुधार आएपछि डा. केसीलाई उहाँकै चाहनाअनुसार वार्डबाट गणेशमानसिंह भवनमा सारिएको सहयोगी प्रितम सुवेदीले बताउनु भयो । डा. केसीको स्वास्थ्य अवस्था कमजोर तर स्थिर अवस्थामा रहेको जानकारी उपचारमा संलग्न मेडिकल टिमका सदस्य डा. प्रमेश क्षेष्ठले दिनुभयो ।

प्रधानमन्त्री, उनकै दल नेकपा संसदीय दलका उपनेता, प्रमुख सचेतक, शिक्षा तथा स्वास्थ्य समितिका सभापति, उपसमितिका संयोजक तथा सांसदले सम्झौता पालना गर्नुपर्ने नैतिक दायित्वविपरितका काम गरेको केसी पक्षको आरोप छ। अधिवक्ता ओमप्रकाश अर्यालले नेकपा संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्रीले सम्झौताको पक्षमा भूमिका निर्वाह गर्न दलका पदाधिकारी तथा सांसदलाई निर्देशन नदिएर विवाद चर्काउने काम गरेको आरोप लगाए। केसीको १५ औं अनशनका बेला साउनमा प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीको पहलमा संसदीय दलका उपनेता तथा पार्टी महासचिवको रोहबरमा सरकारले ल्याएको विधेयकलाई पूर्ववत् अध्यादेशअनुरुप बनाउन संशोधन हाल्ने सहमति भएको स्मरण गर्दै अर्यालले अहिले आएर उनीहरुले न्यूनतम इमानदारीसमेत नदेखाएको बताउनुभयो ।

चिकित्सा शिक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०७२ का सुझाव समेटी ल्याइएको पूर्ववत् अध्यादेशबमोजिम ऐन ल्याइनुपर्ने केसीको माग छ। उहाँले आफूसँग भएको सहमतिबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक नआएसम्म अनशन नतोड्ने बताउनु भएको छ ।

 

नागरिकबाट

Comments

comments