बोर्डिङबाट सरकारीमा !

झट्ट सुन्दा पत्यार नलाग्ने उदाहरण फेला पर्छ काठमाण्डु बालाजुमा रहेको तरुण माध्यामिक विद्यालयमा ! माछापोखरीमा रहेको एउटा बोर्ङिङ्मा पढ्ने भारती दवाडीलाई उनका अभिभावकले यहि विद्यालयमा भर्ना गरि दिए । बोर्ङिङ् स्कुल छोडेर किन सरकारीमा त ? दवाडि भन्छिन् “ यो सरकारी भएपनि बोर्ङिङ र यसको पढाईमा कुनै फरक छैन त्यसैले यहाँ आएको ।” गाउँकै बोडिङ् स्कुलमा पढ्ने नुवाकोटका रविन लामिछानेको कथा पनि दवाडि सँग मिल्दो जुल्दो छ । गाउँकै एक जना दाईले एस एल सीमा विद्यालयनै टपेपछि उनलाई अभिभावकले तरुण माविमा भर्ना गरिदिए । “पढाई राम्रो छ, बोर्डिङको भन्दा केही फरक छैन, यहाँ पनि ईङ्लिसनै हो उहाँ पनि ईङ्लिस, यहाँ झन् सस्तो छ ।” रविन भन्छन् । विद्यालयले गरेको प्रगति देखेर विचमा पढ्न आउनेहरु मात्रै हैन अक्षर चिने देखि यहि विद्यालयमा पढ्ने विद्यार्थीहरु पनि खुसी छन्, अभिभावक ढुक्क ।
सामुदायिक विद्यालयका थुर्पै समस्या मध्ये, पछिल्लो समय विद्यार्थी नहुनु पनि मुख्य समस्या हो । विद्यार्थी भन्दा शिक्षक धेरै, विद्यार्थी नभएर विद्यालय गाभियो जस्ता खवर सार्वजनिक भईरहेका बेला तरुण माविमा भने विद्यार्थीको कुनै खाँचो छैन । अहिले यो विद्यालयका झण्डै दुई हजार विद्यार्थी छन् ।
विद्यालय राम्रो र गतिलो छ भन्ने मापन एस एल सीको उत्तिर्ण प्रतिशतबाट गरिन्छ, यो सूचकाँक सहि हो या हैन भन्ने छुट्टै बहसको विषय हो । तर अहिले सम्म मानिएको मापन एस एल सी नै हो । यो मापनका आधारमा सामुदायिक विद्यालयको स्तर खस्किएको प्रष्ट देखिन्छ । यो बर्ष पनि एस एल सीमा सामुदायिक विद्यालयको नतिजा …..मा सिमित भयो । यो चित्रको भित्र छिर्ने हो भने विचित्र प्रगति गरेका सामुदायिक विद्यालयहरु फेला पर्छन् । यस्तै प्रगति गर्ने सामुदायिक विद्यालय हो, तरुण मावि ।

राम्रो, तर कसरी ?
तरुण माध्यामिक विद्यालय गएको दश बर्षमा चार पटक सर्वाेत्कृष्ट भएको छ । ५८, ६३, ६६ साल र पोहोर । दुई बर्ष अघि दोश्रो भएको थियो । अर्थात् १० बर्षमा पाँच पटक विद्यालय पुरस्कृत नै भएको छ । देशका अधिकाँश सामुदायिक विद्यालय खत्तम भए भन्ने गुनासो बढिरहेको बेला तरुण माविको कथा बेग्लै छ ।
विद्यालयको अहिलेको सफलता, अहिलेको उन्नती एकै रात एकै दिनमा एकै पटक आएको हैन । यसको पछिल्तिर शिक्षालाई कर्म ठान्ने ब्यक्तिहरुको धैर्यता र डरलाग्दा सँर्घष जोडिएको छ । विद्यालयलाई यो अवस्थामा ल्याईपुर्याउन थुर्पै शिक्षक, अभिभावक र विद्यार्थीको मेहनेत, लगन र परिश्रम जोडिएको छ । सेताम्मै कपाल फुलेका ७१ बर्षीय श्याम रञ्जित, विद्यालयका सँस्थापक, प्रधानाध्यापक, हिजो आज पनि विद्यालयमै भेटिन्छन् । विद्यालयको उन्नतीका कथा सुनाउँदा उनको अनुहार त्यसै त्यसै हँसिलो देखिन्छ ।
काठमाण्डु बालाजु बाईपासमा २०२१ सालमा खुलेको नव प्रकाश विद्यालय २०३० सालमा तरुण माध्यामिक विद्यालय भयो । यो परिवर्तनको पछिल्तिरको कथा कम रोचक छैन । “त्यतिबेला एकदम फोहर जँगल जस्तो फोहर ठाउँ थियो यो, उ बेला त पञ्चायत थियो, भद्रगोल भईसकेको थियो, जग्गा पनि हडप्न खोजेका थिए ।” ती दिन सम्झदैँ रञ्जित भन्छन् “पानी चुहिने टहरा, जग्गा हडप्नेको धम्कि, भोग्दै भोग्दै २७ सालमा विहान माध्यामिक र दिउँसो नव प्रकाशको नाममा विद्यालय शुरु भयो । नयाँ शिक्षा लागू भएपछि ३० सालमा निम्न मावी भयो ।”
उमेरले ७१ बर्ष टेक्यो, कपाल सेतै फुलेको छ, विद्यालयको उन्नती, प्रगति र सफलताका कुरा गर्ने वित्तिकै विद्यालयका सँस्थापक श्याम रञ्जितको उत्साह धपक्कै बल्छ । विद्यालयको प्रगति सँग यो चित्रको पनि साईनो छ । २१ साल देखि पढाएको शिक्षक ६२ सालमा रिटायर्र भयो । तर विद्यालय प्रति उसको मायाँ पटक्कै घटेन । उसको मायाँलाई विद्यालय ब्यवस्थापनले पनि आदर गर्यो । र त श्याम रञ्जित विद्यालयमै भेटिन्छन् । विद्यालय बन्ने कुरा शिक्षकको निष्ठाले हो भन्ने कुरा यसले पनि पुष्टि गर्छ । उनको यो लगन, निष्ठा र सर्मपणलाई विद्यालयले यथोचित सम्मान गरेको छ । त्यसैले त हिजो आज पनि कक्षा कोठामा फेला पर्नु हुन्छ “पढाएको बानी, पढाउन मन लाग्छ, सरहरुले अनुरोध गरेपछि म आएको, पिरियड कम छ, कक्षा एक तिरका बच्चालाई पढाउँछु, उहिलेका कुरा सुनाउँछु, रमाउँछन् ।” रञ्जित मख्ख परेर हाँस्छन् ।

सुधारको आधार शिक्षक
भौतिक पूर्वाधार भयो भने विद्यालय राम्रो हुन्छ, विद्यालय राम्रो भयो भने विद्यार्थी बढ्छन्, तर जव नतिजा गतिलो हुँदैन विद्यार्थी टिक्दैनन् । यो रहस्य पत्ता लगाउनु भयो, विद्यालयका प्रधानाध्यापक उदय श्रेष्ठले । विद्यालय राम्रो र गतिलो छ भन्ने मापन एस एल सीको उत्तिर्ण प्रतिशतले गरिन्छ, यो सूचकाँक सहि हो या हैन भन्ने छुट्टै बहसको विषय हो । तर अहिले सम्म मानिएको मापन एस एल सी नै हो । श्रेष्ठ भन्छन् “भौतिक निर्माण, विभिन्न कृयाकलापमा विद्यालयको सहभागिता र प्रगतिलाई पनि मन्त्रालयले हेर्दो रहेछ । तर विद्यालय राम्रो र नराम्रो भन्ने कुरा एस एल सीको रिजल्ट नै हो ।” एस एल सीको स्तर सुधार्ने मुख्य कडि शिक्षक भएको कुरा पत्ता लगाएको दिन देखि नै हो तरुण माविको प्रगति शुरु भएको । त्यसैले शुरु भयो शिक्षकलाई सन्तुष्ट बनाउने काईदाको खोजि । अनी कायम भयो १० बर्ष देखि झण्डै झण्डै सत प्रतिशतको नतिजा ।
सबै भन्दा पहिले शिक्षकको मन जित्ने उपायको खोजि भयो । प्रअ श्रेष्ठ पुराना दिन सम्झन्छन् “प्राउड्लिी भन्छु, हरेक स्कुलमा एड्मिनिष्ट्रेटिभ स्टाफ हुन्छ, फि काट्ने, तलव बाँड्ने, तलव लिन जाने २ – ३ जना कर्मचारी हुन्छन्, हाम्रोमा यो सबै काम एक जना शिक्षकको सहयोगमा म आफैँ गर्छु, यो अन सीन हो यो बाट बर्षभरीमा बच्ने तीन चार लाख रुपैंयाबाट शिक्षकलाई खाजा खर्च दिन थालियो, यसले शिक्षकको उत्प्रेरणा जाग्यो ।” बचेको अलिकति पैसाबाट शिक्षक विद्यालयमा आएको दिनअ खाजा खर्च वापत १० रुपैंया पाउन थाल्यो । शिक्षकलाई दिईने खाजा खर्चको सकारात्मक प्रभाव देखियो अहिले त्यो १० रुपैंया बढेर ४० रुपैंया पुगेको छ । खाजा बाहेक एक बर्ष काम गरेको शिक्षकले औषधि खर्च वापत केही रकम पनि पाउँछ ।

श्रोतको मेलो
“राज्यलाई भनौँ भने छैन, निःशुल्क शिक्षा भन्छ, नभनौँ भने विना श्रोत केही हुने देखिएन ।” श्रेष्ठ भन्छन् “विद्यालय बनाउने भन्ने कुरा एउटा भावना हो, स्थानीयको स्कुल प्रति सकारात्मक भावना बढाउन सक्नु नै विद्यालय सफल बन्न सक्यो ।” सामुदायिक शिक्षा प्रति राज्यको अस्पष्ट नीतिले काम प्रभावकारी हुन नसकेको श्रेष्ठको निष्कर्ष छ । त्यसैले राज्यको मुख ताक्नुको साटो समुदायको मन जित्नु आवश्यक देखियो । श्रेष्ठ भन्छन् “हामी तपाईका छोरा छोरीलाई राम्रो पढाउँछौँ, तपाई हामीलाई विश्वास गर्नुहोस् भन्दै घर घरै गएपछि विश्वासको वातावरण बन्यो ।” एकातिर शिक्षकको जाग्दो उत्प्रेरणा अर्का तर्फ अभिभावकको विश्वास ! यसलाई साथ दियो नतिजाले । अनी फर्केर हेर्नु परेन । अहिले विद्यालयले एक, दुई र तीन कक्षाका विद्यार्थीबाट बर्ष भरीमा सात सय रुपैंया लिन्छ, कक्षा चार देखि माथि ५ मा १२ सय लिन्छ । राज्यले दिने तलवको मात्रै भर परेका शिक्षकलाई विद्यालयले गरेको सानो सहयोग पनि ठूलो लाग्यो, यसले शिक्षकको मन खुसी, पढाई राम्रो, नतिजा गतिलो, अहिले विद्यालयको चार तल्ले पक्कि भवन, ३० – ३५ लाखको फर्निचर, विद्यार्थी, शिक्षक र अभिभावकको मन खुसी !

Comments

comments