विद्यालयको सिकाइ सामग्री खेतबारी र गोठ

– विष्णु विवेक / महंगा उपकरण, फराकिला कक्षा कोठा र प्रविधि बिना कामकाजी सिकाइ सम्भव छैन भन्नेहरुका लागि गतिलो जवाफ हो सुर्खेत कुनाथरी बड्डीचौर स्थित जनज्योति माध्यमिक विद्यालय । जसले पढाइ समयमै दैनिक जीवन यापनका विषय, विद्यालय छेउका खेतबारी, गोठ तथा खोरलाई पाठ्य सामग्रीका रुपमा प्रयोग गरेर सिकाइ क्रियाकलाप गरिरहेको छ । त्यसका लागि विद्यालयले गरेको व्यवस्था हो, बाख्रा पालन, बंगुर पालन, मौरी पालन, माछा पालन ।

तीन वर्षअघि माछा पालनबाट शुरु विद्यालयको व्यवसायले आर्थिक भरथेग मात्रै गरेको छैन सिकाइमा पनि सघाएको छ । र पछिल्लो समयमा विद्यालयको व्यवसाय बढेर बंगुर, बाख्रा, र मौरी पालनसम्म फैलिएको छ । त्यसका लाग विद्यालय वरपरको जग्गामा गरिने खेती त छँदैछ । जहाँ समय, मौसम अनुसारका बाली झुल्छन् । विद्यार्थी त्यही अनुसार सिक्छन् ।

‘कक्षा कोठाको सिकाइले मात्रै व्यवहारिक ज्ञान प्राप्त हुनै सक्दैन, विद्यालयका प्रधानाध्यापक नारायण सिग्देल भन्छन्, ‘कृषि, अन्नबाली, यसको उपयोगिता, लगाउने तरिका सिकायो भने त्यो लामो समय सम्म मानस पटलमा रहिरहन्छ ।’ दश बजे कक्षा पुग्ने विद्यार्थी कक्षाको पढाइसँगै व्यवहारिक सिकाइमा आफूलाई व्यस्त बनाउँछन् ।

विद्यार्थीलाई अभ्यास गराउँदै पढायो भने त्यसको प्रभावकारीता बढ्ने विद्यालयका पूर्व शिक्षक तथा व्यवस्थापन समितिका सदस्य राजाराम गरंजा बताउँछन् । ‘विद्यार्थीको ज्ञान दिगो बनाउन व्यवसायले सघाएको छ, उनले सुनाए, ‘यसले विद्यालयलाई आम्दानीमा पनि सघाएको छ ।’

पढाइ र सिकाइ समय बाहेकको कामको पारिश्रमिक विद्यार्थीले पनि पाउँछन् । यसले उनीहरुको पढाइ खर्च चलेको छ । विशेष गरी उच्च मावि पढ्ने विद्यार्थीले त्यो लाभ लिएका छन् । गाउँका अभिभावकले पनि विद्यालयको व्यवसायमा काम पाएका छन् ।

२०२९ सालमा स्थापना भएको यस विद्यालयको संस्थापक हुन् राजाराम गरंजा । प्राथमिक तहबाट शुरु भएको विद्यालय उच्च मावि तहसम्म आइपुग्यो । अहिले विद्यालयमा ९ सय १८ विद्यार्थी अध्ययनरत छन् । तिनका लागि ३१ शिक्षक व्यवस्था गरिएको छ । त्यस मध्ये २० जना दरबन्दीमा छन् । बाँकी स्थानीय स्रोतबाट तलब खाइ रहेका छन् ।

एउटा कक्षामा ४० जनामात्रै विद्यार्थी राखेर अध्यापन गराइने प्रअ सिग्देलले बताए । निमाविको कक्षा ६ र ८ मा दुई वटा सेक्सन चलाइएको छ । यसले विद्यार्थीलाई बुझाउन र पढाउन सजिलो बनाएको प्राचार्य सिग्देल बताउँछन् ।

‘सरकारीमा बढी विद्यार्थीलाई कोचा कोच गरेर पढाउँदा समस्या भएको भन्ने थाहा छ । त्यसैले हामीले सेक्सन छुट्याएर पढाउने गरेका छौँ’ उनले भने, ‘कक्षा ६ र ८ मा चार जना शिक्षकले पढाउँदा ७ कक्षाका विद्यार्थीलाई सेक्सन बाँडेर पढाउन सकिएको छैन । केही गरेर मिलाउने कोशिस गरिरहेका छौँ ।’

प्रावि तहमा ५ जना शिक्षकको दरबन्दी छ भने १ जना नीजि स्रोतका छन् । यस्तै निमावि र माविमा ४÷४ जना शिक्षकको दरबन्दी छ । उमाविमा २, टी–एसएलसीमा ४ जना र विशेषमा (अपांगता भएका विद्यार्थीलाई पढाउने) १ जना शिक्षकको दरबन्दी छ ।

२०२९ सालमा स्थापना, २०३९ मा निमावि र २०४८ मा मावि तह सुरु भएको हो । २०६६ मा विद्यालयलाई उच्च मावि बनाइएको हो । शिक्षा, विज्ञान र कृषि विज्ञान उच्च माविमा पढाइ हुन्छ ।

‘त्यति बेला वीरेन्द्रनगर गएर पढ्न विद्यार्थीलाई आर्थिक समस्या हुने गरेको गुनासो सुनेपछि हामीले उच्च मावि पनि सञ्चालन गर्ने प्रयास गर्यौँ । व्यक्तिगत चन्दाका साथै कृषि विज्ञान सञ्चालन गर्दा महायज्ञ समेत आयोजना गर्यौँ । महायज्ञबाट साढे ४ करोड रुपैँया संकलन भएको थियो’ उनले भने ।
सीप मुलक, व्यावसायिक र रोजगार मुलक शिक्षाकालागि १५ महिने कृषि भेटनरी र २९ महिने कृषि जेटीए विषय पनि विद्यालयमा पढाइ भइरहेको छ । कृषि विज्ञान विषय पढ्न मध्य र सुदुर पश्चिमका विभिन्न जिल्लाबाट विद्यार्थी आउने गरेका छन् ।

सुधारोन्मुख नतिजा

जनज्योती विद्यालयका विद्यार्थीले पहिलो पटक २०५१ सालमा एसएलसी दिएका थिए । १३ जनाले एसएलसी दिएकामा ५ जना मात्र उतीर्ण भए । विद्यालयमा त्यस पछि निरन्तर एसएलसी परीक्षा दिने विद्यार्थीहरु सफल पनि हँुदै आएका छन् । पहिलो बर्षको सफलतालाई निरन्तरता दिदैँ गएको विद्यालयका प्राचार्य सिग्देल बताउँछन् । ‘त्यतिबेला एसएलसी दिने विद्यार्थी विद्यालय पिच्छे एक दुई जना मात्रै उतीर्ण हुने गर्थे । तर हाम्रो विद्यालयमा पहिलो बर्षमै पाँच जना उत्तीर्ण भए’ उनले सम्झिदै भने, ‘पछिल्लो तीन बर्ष नतिजा हेर्दा पनि सफलता दर बढ्दै गएको छ ।’

२०७० सालमा ६५ जनाले एसएलसी दिएकोमा ३७ र गत वर्ष ५२ जनाले दिएकोमा ३४ जना उत्तीर्ण भए ।

‘हामी सुधार प्रयासमा छौं’ प्राचार्य सिग्देल भन्छन्, ‘राम्रो विद्यार्थीलाई पढ्न प्रोत्साहित गर्ने र कमजोर विद्यार्थीलाई थप सिकाइमा सहभागी गराइन्छ ।’

प्रविधिको उपयोग

विद्यालयमा निःशुल्क इन्टरनेट छ । विद्यार्थीले पनि त्यसको निर्वाध प्रयोग गर्न सक्छन् र प्रयोग गरिरहेका छन् । शहरी क्षेत्रका धेरैजसो विद्यालय इन्टरनेट प्रयोगबारे त्यति सकरात्मक छैनन् । प्राचार्य सिग्देल आफूहरुले त्यसको सदुपयोग गरेको दावी गर्छन् । भन्छन्, ‘हामीले सिकाइमा त्यसको उपयोग गरेका छौं ।’

विद्यार्थी विक्रम विकका शब्दमा इन्टरनेट मार्फत आफूहरुले मुलुकमा भइरहेका गतिविधि, समाचार र जानकारी लिन सजिलो भएको छ । ‘सरले पढाएको कुरालाई इन्टरनेटमा गएर सर्च गर्दा थप धेरै कुरा पाइन्छ र ज्ञान बढाउन पाइन्छ । यसले हामीलाई धेरै सजिलो भएको छ’ उनले भने । विद्यालयले कक्षामा शैक्षिक र सिकाइ प्रयोजनका लागि मोबाइल चलाउन पनि छुट दिएको छ ।

सुधारका तीन सुत्र

विद्यालयका प्राचार्य सिग्देल सामुदायिक विद्यालय सुधारका लागि तीन कुरामा ध्यानदिनु पर्ने बताउँछन् । भन्छन्, ‘पहिलो सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्छ । यसो भए सामुदायिक प्रतिको चासो बढ्छ र सुधार सम्भव हुन्छ ।’

दोश्रो – ‘शिक्षणलाई प्रोत्साहन गर्न दक्ष व्यक्तिलाई शिक्षक नियुक्त गर्नु पर्छ । यसले सिकाइ प्रकृया बदल्छ र प्रभावकारी हुन्छ ।’

तेश्रो – ‘शिक्षण पेशालाई मर्यादित बनाउनु पर्छ । त्यसका लागि शिक्षकलाई प्रोत्साहित गर्नु पर्छ । शिक्षकको भूमिकालाई प्रभावकरी रुपमा प्रयोग गर्न सके सामुदायिक विद्यालय सुधार सम्भव छ ।’

नीजिमा आफ्ना छोराछोरी पढाउने र सरकारी विद्यालय सुध्रिएन वा सुधारौँ भन्नेहरु प्रति उनको गम्भीर गुनासो छ ।

Comments

comments